Logo
Logo

अधुरो परियोजनामै जस लिने होड, त्रिवि मैदानलाई लिएर ओली-प्रचण्ड आमनेसामने


819
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको कार्यलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच जस लिने होड चलेको छ ।

यो परियोजनाको प्रगति र समयमै सम्पन्न नहुनुको विषयलाई लिएर दुवै नेताबीच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप चलिरहेको छ ।

सोमबार संसदमा विशेष सम्बोधन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले नै कीर्तिपुर रंगशालामा फ्लडलाइट जडानका लागि ठेक्का सम्झौता गरेको दाबी गरे । तर, त्यही बेलामा सरकारबाट हट्नुपरेको उनले बताए ।

उनले भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रङ्गशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै तीन सय दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’

जवाफमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डलाई कीर्तिपुरको निर्माणाधीन प्यारापिट र फ्लडलाइट हेर्न आग्रह गर्दै यो परियोजना आफ्नो पहलमा अघि बढेको बताए ।

ओलीले आफ्नो नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले तीन सय दिनभित्र प्यारापिट र फ्लडलाइटसहितको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने निर्णय गरेको उल्लेख गरे । उनले भनेका छन् भने, ‘म प्रचण्डजीलाई आग्रह गर्छु, कीर्तिपुर गएर निर्माणाधीन प्यारापिट र जडान भइरहेका फ्लडलाइटका पोलहरू हेर्नुस्। काम भइरहेको छ । तपाईँ प्रधानमन्त्री हुँदा कुनै कामका लागि समयसीमा तोकेर काम गर्छु भन्नुभयोरु तपाईंले कुनै काम गर्नुपरेन, गर्नुभएन । तपाईँसँग न वाचा, न निर्णय, न सङ्कल्प, न त कुनै उपलब्धि । मैले त समय तोकेर काम गर्छु भनेर प्रतिबद्धता जनाएँ र काम पनि गरेँ ।’

त्रिवि क्रिकेट मैदानको स्तरोन्नति कार्य गत फागुन २१ देखि सुरु भएको थियो । पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट र आठ वटा फ्लडलाइट जडान गर्ने लक्ष्य राखिएको थियो ।

तर, तोकिएको समय (वैशाख २४) मा काम सम्पन्न नभएपछि प्रधानमन्त्री ओलीले असार मसान्तसम्मको म्याद थप गरेका थिए । यद्यपि, प्राविधिक र प्राकृतिक कारणले काममा ढिलाइ भएको भन्दै यो म्याद पनि अपर्याप्त देखिएको छ ।

सहरी विकास मन्त्रालयले हालसम्म प्यारापिटको ७० प्रतिशत र फ्लडलाइटको ४० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । यो परियोजना आगामी आर्थिक वर्षसम्म लम्बिने सम्भावना छ । प्यारापिटमा रंगीन कुर्सीहरू जडानको काम सुरु भइसकेको छ भने फ्लडलाइटको बेस निर्माण सम्पन्न भएको छ। तर, आवश्यक सामग्री आयातमा ढिलाइका कारण फ्लडलाइट जडानको कामले गति लिन सकेको छैन ।

प्यारापिट निर्माणको जिम्मा बीकेओआई–केसीडीसी–बीजी जेभीले ४३ करोड ७७ लाख ३० हजारमा र फ्लडलाइट जडानको ठेक्का विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजारमा पाएका छन् । तर, सामान आयातमा ढिलाइ, प्राविधिक समस्याहरू र वर्षाको कारणले काम प्रभावित भएको निर्माण कम्पनीहरूले बताएका छन्।

नेपालमा बढ्दो क्रिकेट लोकप्रियतालाई ध्यानमा राख्दै त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रात्रीकालीन खेलका लागि उपयुक्त बनाउने यो योजना निकै महत्त्वपूर्ण मानिन्छ। तर, समयमै सम्पन्न नहुनु, ठेकेदारको सुस्तता र नेताहरूको आ–आफ्नो श्रेय लिने प्रतिस्पर्धाले यस परियोजनाको प्रभावकारिता कमजोर बनाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्