
काठमाडौं । आज (बुधबार) सेयर बजार दोहोरो अंकले बढेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबारका दिन आज नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा बन्द भएको हो ।
बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजार सकारात्मक माहोलतर्फ प्रवेश गरेको छ । आज चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १४ अर्ब तीन करोड रुपैयाँ नाघेको छ ।
कारोबार भएका ३३० कम्पनीमध्ये १९३ वटाको सेयर मूल्य बढ्यो । ५५ कम्पनीको सेयर मूल्य घटेको छ । कुल ९९ हजार ५०५ कारोबार भए ।
सबैभन्दा धेरै लाभ कमाउने कम्पनीमा कुमारी बैंक (केबीएल डिबेन्चर) १० प्रतिशतले बढ्यो भने उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४१२.९० रुपैयाँमा बन्द भयो ।
थ्री स्टार हाइड्रोको सेयर मूल्यमा पनि सकारात्मक ‘सर्किट ब्रेकर’ लाग्यो । थ्री स्टारको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३१.७० रुपैयाँमा उक्लियो । उच्च कमाउने शीर्ष कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक, एनआईबीएल स्टेबल फन्ड, अपर हेवाखोला हाइड्रो रहेका छन् ।
सर्वाधिक गुमाउनेमा भने माइ खोला हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त कम्पनीको मूल्य ७ प्रतिशतभन्दा धेरैले घट्दा नारायणी विकास बैंक, उन्नती सहकार्य लघुवित्तलगायतको मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ।











