Logo
Logo

‘साम्बा’ न्यूजील्याण्डको क्लब वेलिङटन फोनिक्समा आबद्ध 


441
Shares

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ न्यूजील्याण्डको क्लब वेलिङटन फोनिक्समा आबद्ध भएकी छन् । उनले सिजन २०२५/२६ का लागि यो क्लबसँग सम्झौता गरेकी हुन् ।

 

वेलिङटन फोनिक्सले अस्ट्रेलियाको ए-लिग वुमन्समा प्रतिस्पर्धा गर्छ, जहाँ १२ टोलीमध्ये ११ वटा अस्ट्रेलियाका छन् । गत सिजन वेलिङटन नवौँ स्थानमा रहेको थियो र २३ खेलमा मात्र ७ जित हासिल गरेको थियो । 

क्लबमा आबद्ध भएपछि साम्बाले उत्साह व्यक्त गर्दै धेरै गोल गर्ने र समर्थकहरूलाई खुसी पार्ने लक्ष्य राखेकी छन् । उनले यसअघि फ्रान्सको शीर्ष डिभिजन लिगमा दुई सिजन गुइनगाम्प क्लबबाट खेलेकी थिइन्, जहाँ उनी युरोपको शीर्ष पाँच लिगमा खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

तर, गत सिजन गुइनगाम्प रेलिगेसनमा परेको थियो । यसअघि साम्बाले इजरायलको शीर्ष डिभिजन क्लब हापोइल रा’नानाबाट खेलेकी थिइन्, जहाँ उनी युरोपियन लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । युद्धका कारण उनले सिजन बीचमै छाड्नुपरेको थियो ।

भारतको महिला लिगमा पनि उनले उत्कृष्ट प्रदर्शन गरिन् । गोकुलम केरलाबाट खेल्दा उनले १० खेलमा २९ गोल गरिन् र टोलीले लिग जित्यो । तीन सिजन भारतीय लिग खेल्दा उनले २४ खेलमा ६० गोल गरी कीर्तिमान बनाइन् र तीनै सिजन उपाधि जितिन् । 

साम्बा दक्षिण एसियाकै शीर्ष स्ट्राइकरमध्ये एक हुन् । घरेलु लिगमा उनी एपिएफ क्लबबाट खेल्छिन् । सन् २०१४ मा उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्यू गर्दै गोल गरेकी थिइन् । हालसम्म उनले राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरिसकेकी छन्, जुन नेपाली महिला फुटबलमा सर्वाधिक हो । 

प्रतिक्रिया दिनुहोस्