Logo
Logo

साफ यू-२० महिला च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको अर्को सानदार जित


1.5k
Shares

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार दिउँसो भएको खेलमा नेपाल ७–० गोलअन्तरले विजयी भएको हो ।

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थप्यो ।

नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक–एक गोल गरे । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।

१५औं मिनेटमा पूर्णिमाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ३५औं मिनेटमा कुसुमले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

४३औं मिनेटमा सरिता नाथले फ्रिकिकमा गोल गर्दै ३–० को अग्रतामा पुर्‍याइन् । त्यस्तै ४५औं मिनेटमा कुसुमको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट हुँदै गोल भएपछि नेपालले ४–० को अग्रता बनायो ।

दोस्रो हाफको ६७औं मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता अझै बढाइन् । समिक्षा मगरले ७४औं र ७८औं मिनेटमा गोल गर्दै अग्रता ७–० मा पुर्‍याइन् ।

९०औं मिनेटमा बिर्सनाको अर्को पेनाल्टी प्रहार भने श्रीलंकन गोलरक्षकले बचाइन् । त्यसपछि गोल भएनन् नेपाल ७–० ले विजयी भयो ।

यसअघि श्रीलंकासँगको पहिलो खेलमा पनि नेपाल ७–० ले विजयी भएको थियो ।

जितपछि नेपाल ४ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बंगलादेश ३ खेलमा अपराजित रहेर ९ अंकका साथ गोलअन्तरमा पछाडि रहेर हाल दोस्रोमा छ ।

बंगलादेशले बेलुका भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्