काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक २१.७६ अङ्क बढेर २८९२.७२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.६० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अङ्क बढेको छ ।
नेप्से बढे पनि सोमबार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार करिब साढे २१ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ३८ हजार ८२८ पटकको कारोबारमा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँबराबरको ३ करोड ५६ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैङ्क र सप्तकोशी डेभलपमेन्ट बैङ्कको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँबराबरको सेयर करोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।











