काठमाडौं । अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल (नाडा) अहिले गुट र फुटको संंघारमा पुगेको छ । २०३२ मा स्थापना भएको यो संगठनभित्र नेतृत्वको अराजकता र भाँडभैलोले गर्दा नयाँ संस्था नाइमा समेत गठन भएको छ ।

चर्को विवादको कारण नाडाको आसन्न महाधिवेशनको समेत टुंगो लाग्न सकेको छैन । विधानतः नाडाको साधारणसभा साउनदेखि पुस महिनाभित्रमा गरिसक्नुपर्छ । अहिले नाडाभित्र देखिएको विवादको चुरो कुरा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई अध्यक्ष बन्न नदिनु नै हो । नाडामा सिप्रदी, लक्ष्मी र चौधरी समूहको बलियो पकड छ ।
यी व्यापारिक घरानाले नाडालाई कब्जा जमाइराख्न भ्याट छली गर्ने, नक्कली पार्टपुर्जा बेच्नेदेखि भन्सार छलेर ल्याएका मोटरपाट्स बेच्नेसम्मका ‘नाङ्ले’ पसलेलाई नाडाको सदस्य बनाइएको छ । साधारणसभा अगाडि यी विषयमा जिल्ला प्रशासन कार्यालयले सदस्यताको विषयमा गहिरो छानबिन गर्नुपर्ने कुरामा नाडाकै एकथरिले जोड दिएका छन् ।
नाडाको गत साधारणसभामा वरिष्ठ उपाध्यक्ष पद खडा गरेर आकाश गोल्छालाई अध्यक्ष बनाउने सहमति भए पनि अहिले आएर त्यो सहमतिबाट करण चौधरी पछि हटेका छन् । चौधरी राजनबाबु श्रेष्ठलाई अध्यक्ष बनाउने दाउमा छन् । नभए, महासचिव सुरेन्द्र उप्रेतीलाइ अध्यक्षमा प्रतिस्पर्धा गराउने खेल भइरहेकको छ । जसरी भए पनि सिप्रदी ग्रुप नाडालाई आफ्नो ‘एक्का’ बनाउन चाहन्छ । त्यसैले बेलाबेला नाडामा अनावश्यक विवाद खडा हुने गरेको छ ।
करण चौधरीबाट धोका खाएपछि नाडाको अध्यक्ष बन्ने आकाश गोल्छाको सपना ‘आकाशको फल आँखा तरि मर’ भनेजस्तो भएको छ । अब अध्यक्षका लागि गोल्छाले निर्वाचन लड्नुपर्ने छ ।
यसैबीच, कुनै पनि हालतमा नाडाको विधानअनुसार समयमै साधारणसभा गरिनुपर्ने आवाज उठिरहेको छ । तर संगठनका पदाधिकारीबीचको झगडाले ठूलो रुप लिँदा नाडाको भविष्य नै खतरामा पुगेको छ । विवाद बढ्दै गएपछि पदाधिकारीबीच स्पष्टीकरण सोध्ने र बुझाउनेसम्म पुगेको छ ।
केही समयअघि वरिष्ठ उपाध्यक्ष (सदस्यमा घटुवा गरिएका) आकाश गोल्छा पक्षले अध्यक्ष करण चौधरीले एकलौटी रुपमा संस्था चलाउन खोजेको र साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष र सदस्यहरुलाई विधान विपरित सदस्यमा झारिदिएको विषयमा आपत्ति जनाएका थिए ।
उनीहरुले अध्यक्षले मनोमानी गर्न नछोडे अविश्वासको प्रस्ताव ल्याउने, विशेष साधारणसभा माग गर्ने र अध्यक्षले बहुमत सदस्यको माग बमोजिम काम नगरे उनलाई फाल्नेसम्मको चेतावनी दिएका थिए ।
त्यसपछि अध्यक्ष चौधरीले आकाश गोल्छा, सुनिल रिजाल, प्रदीपमान प्रधान र सन्जय खेतानलाई स्पष्टिकरण सोधेका थिए । महासचिव सुरेन्द्र कुमार उप्रेतीमार्फत असार ३ गते सोधिएको स्पष्टिकरणमा चारै जनालाई एक साताभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको थियो ।
त्यसपछि चारै जनाले असार ९ गते स्पष्टिकरण बुझाए् । गोल्छा, रिजाल, प्रधान र खेतानले स्पष्टीकरण बुझाउँदै उल्टै प्रश्न गरे । जवाफमा उनीहरुले नाडाको विधान नै अध्ययन नगरी आफूहरुलाई स्पष्टिकरण सोधिएको भन्दै उल्टै विधानको उलङ्घन गरेको कसुरमा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
नाडाको कार्यसमिति बैठक बिना नै अधिकार क्षेत्रभन्दा बाहिर गएर स्पष्टिकरण सोधिएको भन्दै उनीहरुले त्यसको कुनै औचित्य नरहेको समेत दाबी गरेका छन् । ‘यसरी स्पष्ट रुपमा विधानको उलङ्घन गर्दै गरिएको कार्यका लागि तपाई स्वयम् माथि नै कारबाहीका लागि हामीले कार्यसमितिमा प्रस्ताव किन नलाने ?’ जवाफमा महासचिवलाई उल्टै प्रतिप्रश्न गरिएको छ ।
यसअघि नाडाले सोधेको स्पष्टिकरणमा गोल्छा र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यबाट हटाउने र प्रधान र खेतानलाई ६ महिनाका लागि निलम्बन गर्ने चेतावनी दिइएको थियो ।
नाडाको यो विवाद गत साधारण सभादेखिको हो । नाडामा गत साधारणसभामा आपसी समझदारीमा नेतृत्व चयन गरिएको थियो । सोही समयदेखि बल्झिएको विवादले नाडा अहिले आएर टुक्रने अवस्थामा पुर्याएको नाडाका पदाधिकारीहरू बताउँछन् ।
अध्यक्ष चौधरीले आकाश गोल्छा सहितका उनको टिमलाई नाडाबाट निकाल्ने प्रपन्च रचेको पाइएको छ । पछिल्लो समय आकाश गोल्छा पक्ष नाडाका अध्यक्ष करण चौधरीले आफूलाई वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा गरेको र नाडाका कामकारबाहीमा समेत व्यक्तिगत तरिकाले गर्ने गरेको भन्दै असन्तुष्ट छन् । त्यही असन्तुष्टि पोख्दै आकाश पक्षका सुनिल रिजालले सार्वजनिक रुपमा अध्यक्ष चौधरीविरुद्ध अभिव्यक्ति दिएका थिए । अहिले गोल्छा पक्षका व्यवसायीहरूलाई नाडाबाट एक्ल्याउने प्रयास भइरहेको छ ।
नाडाको विकल्पको रुपमा नयाँ संगठन नाइमा सक्रिय भएको छ । नाडा सदस्यहरु नाइमामा पनि आबद्ध भएका छन् । अझै पनि नाडामा भाँडभैलो मच्चिए नाइमा सशक्त हुने देखिन्छ । यस विवादको जड भने ४७ औं साधारणसभा हो । नाडाको ४७ औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर गोल्छालाई भाबी अध्यक्ष बनाउने प्रतिबद्धता गरिएको थियो ।
तर, उक्त प्रतिबद्धता अनुसार विधान संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेपछि गोल्छा सदस्यमा घटुवा भएपछि नाडामा विवाद चर्किएको थियो । नाडा अध्यक्ष चौधरीले पदाधिकारीहरुसँग कुनै सल्लाह नगरी हठातमा गोल्छालाई सदस्यमा घटुवा गर्नुको पछाडि राजनबाबु श्रेष्ठहरु मिलेर नाडा कब्जा गर्ने भित्री रणनीति छ ।
अध्यक्ष करण चौधरी अपरिपक्व भएकै कारण उनलाई पर्दा पछाडिबाट राजनबाबु श्रेष्ठले घुमाइरहेका छन् । चौधरीलाई ‘सेरमोनियल’ अध्यक्ष बनाएर श्रेष्ठले ‘रिमोटकन्ट्रोल’ चलाइरहेका छन् । जसका कारण चौधरी असफल मात्र भएका छैनन्, उनले नाडालाई पंगु बनाएका छन् । कुनै भिजन र सोच नभएका चौधरीलाई श्रेष्ठले नै निर्विरोध अध्यक्ष बनाउन षड्यन्त्र गरेका थिए ।
अध्यक्ष चौधरीले नाडाको अलिअलि बचेखुचेको साख पनि झन् खस्काउँदै गएको आरोप लागिरहेको छ । अध्यक्ष करण चौधरी अपरिपक्व भएकै कारण उनलाई पर्दा पछाडिबाट राजनबाबु श्रेष्ठले घुमाइरहेका छन् । चौधरीलाई ‘सेरमोनियल’ अध्यक्ष बनाएर श्रेष्ठले ‘रिमोटकन्ट्रोल’ चलाइरहेका छन् । जसका कारण चौधरी असफल मात्र भएका छैनन्, उनले नाडालाई पंगु बनाएका छन् । कुनै भिजन र सोच नभएका चौधरीलाई श्रेष्ठले नै निर्विरोध अध्यक्ष बनाउन षड्यन्त्र गरेका थिए ।
त्यही नुनको सोझो गर्न चौधरीले वरिष्ठ उपाध्यक्ष गोल्छाको अपमान मात्र गरेका छैनन्, गोल्छालाई भावी अध्यक्ष बन्न नदिन विधानविपरीत घटुवा गर्नेदेखि जिल्ला प्रशासन कार्यालयलाई समेत ढाँट्ने गरेका छन् ।
नाडाको ४६औँ साधारणसभामा ध्रुव थापासँग हारेका चौधरीलाई ४७औँ साधारणसभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित गराउनुको कारण नाडालाई गुटबन्दीबाट जोगाउँदै सशक्त संगठनको रुपमा अगाडि बढाउने उद्देश्य थियो भन्ने कुरा यतिबेला चौधरीले बिर्सिएका छन् । ‘खोलो त¥यो, लौरो बिर्सियो’ भनेझैँ चौधरीले गोल्छाको गुन बिर्सदा नाडामा भाँडभैलो मच्चिएको हो ।
नडामा वरिष्ठ उपाध्यक्षलाई निर्विरोध अध्यक्ष बनाउने परम्पराको थालनी भएको भए सायद नाइमा जन्मने थिएन । किनभने, नाइमाका अध्यक्ष रितु सिंह वैद्य पनि नाडाकै सदस्य हुन् । तर केही स्वार्थ समूहको कब्जामा नाडा गएपछि त्यसबाट दिक्क भएर वैद्यको नेतृत्वमा नाइमा गठन भएको हो । नाडा र नाइमाको सांगठनिक ढाँचा फरक छ । नाडामा जस्तोसुकै व्यवसायीहरु पनि आबद्ध हुन सक्छन् भने नाइमामा गाडी आयातकर्ता डिलर र उत्पादकहरु मात्र सदस्य बन्न सक्छन् ।
नाडाले आगामी भदौ ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अटोमोबाइल व्यवसायीहरूको महामेलाका रुपमा लिइने त्यो अटो शोको तयारी गर्नुको साटो नाडाका पदाधिकारीहरू अहिले विवादमा अल्झिएका छन् । नाइमाले पनि साउनमा अटो शो गर्ने भएको छ ।











