काठमाडौं । पछिल्लो समय सरकारी बैंकमा बेथिति मौलाउँदै गएको छ । नियामकीय प्रावधानहरू नमान्ने, कर्जा असुली नहुने जस्ता समस्याका कारण राष्ट्रिय वाणिज्य बैंक बेथितिको दलदलमा फसेको छ । पछिल्लो समय निष्क्रिय कर्जा बढिरहेको यस बैंकको अन्य पफर्र्मेन्स पनि खस्किएको छ ।

यस बैंकको निष्क्रिय कर्जा ४.६९ प्रतिशत पुगेको देखाइएको छ । तर, अघिल्ला आवहरूमा भन्दा पछिल्लो आवमा यस बैंकको निष्क्रिय कर्जा बढ्दै गएको छ । यसले बैंकको नाफा पनि प्रभावित भएको छ ।
यतिमात्र नभई केही समयअघि राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही समेत गर्नुपरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गरेको भन्दै सरकारी स्तरको यस बैंकलाई कारबाही गरिएको हो ।
गत आव २०८१÷८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा निर्देशन उल्लंघन गरेको पाइएपछि राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको थियो ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरी केन्द्रीय बैंकको नीतिको पालना नगरेको, कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि कारवाही गरिएको हो ।
राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्ररमण खनाललाई पहिलोपटकका लागि सचेत गराएको थियो ।
यस्तै केही महिनाअघि यस बैंकका कर्मचारीमाथि रकम हिनामिना गरेको आरोप लागेको थियो । बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर रकम हिनामिना गरेको आरोप लागेका यस बैंकका कर्मचारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उक्त मुद्दामा राष्ट्रिय वाणिज्य बैंकको सुनसरीस्थित इनरुवा शाखा कार्यलयका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडासहित तीन जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुले रकम हिनामिना गर्दा जिल्ला शिक्षा कार्यालय, सुनसरीको लेटरप्याड, छाप र दस्तखत नै किर्ते गरेको अख्यितारको आरोप छ ।
अख्तियारका अनुसार उनीहरुले बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर ५ लाख ६० हजार हिनामिना गरेका थिए । उनी विरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
विशेष अदालतले २०८१ बैशाख २४ गते उक्त मुद्दामा आंशिक सफाइ दिएको थियो । तर, विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुन्सन्धान आयोग सर्वोच्च गएको हो ।
यस बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र खनाल छन् भने अध्यक्षमा केही दिनअघि मात्रै देवकुमार ढकाल नियुक्त भएका छन् ।











