काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँमा किन्ने भएको छ । बैंकको संस्थापक लगानीकर्ताहरूमध्येबाट नेशनल लाइफसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र बैंक लगानीकर्तामध्येका रामप्रसाद आचार्य र अर्का एक जना महिलाले पनि आवेदन दिएका थिए ।

यसअघि विचौलिया व्यवसायी दीपक भट्टले सो सेयर किन्नका लागि सरकारी संयन्त्रमा चर्को दवाव दिएका थिए । गभर्नर विश्व पौडेल पनि सरकारको दवावमा उनीप्रति लचक बनेका थिए ।
यसबारे निरन्तर समाचार लेखेर सरोकारवालाको ध्यानाकर्षण गराएसँगै भट्टको प्रपञ्च रोकिएको छ । हिमालयन बैंकमा रहेको हबिबको सेयर बिक्री गर्न प्रकाशित सूचनाको शर्त पूरा हुनेगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै आवेदन दिएको छ ।
हिमालयन बैंकले बैंकमा रहेको संस्थापक सेयरधनी हबिब बैंकले सेयर बिक्री गर्न लागेको भन्दै इच्छुक लगानीकर्तालाई आह्वान गरेको थियो । जसमध्ये हालका संस्थापक सेयरधनीमध्येका संस्थागत लगानीकर्तामा दुई इन्स्योरेन्स कम्पनी र व्यक्तिगत लगानीकर्तातर्फ पनि २ जनाले इच्छा देखाएका हुन् ।
हिमालयन बैंकमा रहेको कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर प्रतिकित्ता ११२.८० रुपैयाँको दरले एकमुष्ट बिक्रीको लागि हबिबले निवेदन दिएको थियो । सोहीअनुसार बैंकले गत जेठ ३० गते एकमुष्ट किनबेच हुने गरी संस्थापक सेयरधनीलाई सूचना निकालेको थियो ।
सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं १० बमोजिम बैंकको हाल कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको थियो ।
सो आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने थियो । बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो ।
सोही आह्वानका आधारमा बहालवाला ४ संस्थापक सेयरधनीले उक्त सेयर खरिदको लागि आवेदन दिएका हुन् । जसमध्ये सूचना अनुसारको शर्त पूरा गर्नेगरी नेशनल लाइफ इन्स्योरेन्सले मात्र आवेदन दिएको हो ।
हबिबको नाममा रहेको बैंकको सेयर एकमुष्ट खरिद गर्नेगरी आवेदन आह्वान भएको थियो । ३५ दिनको सूचना गत बिहीबार सकिएर शुक्रबार नै आवेदन दिनेहरूको शिलबन्दी खोलिएको थियो । ३ वटै आवेदनमध्ये प्रभु महालक्ष्मी लाइफ र २ जना व्यक्तिगत लगानीकर्ताले हबिबले बेच्न लागेको सेयरको केही प्रतिशत मात्रै खरिद गर्नका लागि आवेदन दिएका थिए ।











