काठमाडौं । साफ महिला यू–२० च्याम्पियनसिपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगितामा उपविजेता भएको नेपाली टोली मङ्गलवार अपरान्ह स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि कप्तान विर्सना चौधरीले अन्तिम खेलमा सबै खेलाडीले राम्रो प्रदर्शन गर्दा पनि नजिता आफ्नो पक्षमा पार्न असफल भएको बताइन् ।
त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीहरूले निरन्तर खेल्दा थकान महशुस गरेको र त्यसको असर अन्तिम खेलमा देखिएको बताए । प्रतियोगिताको अन्तिम खेलमा आयोजक बङ्गलादेशसँग पराजित भएपछि नेपाल उपबिजेतामा सीमित हुन पुगेको थियो । बङ्गलादेश, नेपाल, भुटान र श्रीलङ्काको सहभागिता रहेको प्रतियोगितामा बङ्गलादेशले ६ वटै खेल जित्दै च्याम्पियन बन्न सफल भयो भने नेपाल ४ खेल जित्दै उपविजेता बन्यो ।











