काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्रकान्त भण्डारीले नेपाली युवाहरूलाई दलालसँग मिलेर पढ्न बाहिर जाउन् भन्ने बाध्य बनाइएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद भण्डारीले त्यसरी सेटिङमा नेपालमा स्वास्थ्य शिक्षा, आईटीलगायतका विषय पढ्न नदिइएको बताए । नेपाली युवाहरू बाहिर जाउन् भनेर नेपालमा कुनै पनि संस्था नखोलिएको उनले दाबी गरे । उनले नेपाली युवाहरूसँग नेपालको सम्पत्ति पनि बाहिर गइरहेको बताए ।

उनले भने, ‘मेरो भनाइ झुटो होस् । यहाँ तलदेखि माथिसम्म युवाहरू बाहिर जाउन्, नेपालमा नपढुन् भनेर दलालसँग मिलेर संस्था खोलिँदैन । निजी ३/४ वटा छन् । हाम्रा युवा यति राम्रा छन्, रोबट यिनैले बनाउँछन् । कम्प्युटर यिनैले बनाउँछन् । १२ कक्षा पढेका बच्चाहरूले आईटीमा काम गरिरहेका छन् । तर हामीले खोलिदिएनौँ । हामीले यसलाई स्वीकृति दिएनौँ ।’
उनले नेपालका नेताहरु यस्ता समस्याको समाधानमा लाग्नु भन्दा आफुहरुनै विदेश भ्रमणमा व्यस्त रहेको आरोप लगाए उनले भने, ‘नेपालको सम्पत्ति बाहिर गइरहेको छ । हाम्रा नेताहरू भाषण गर्छन् । विदेश घुमेको देख्छु मैले । यहाँ यत्रो काम छ, मलाई त थाहा छैन । यिनीहरू मंगल ग्रहमा विकास गर्न जाँदै छन् कि ? होइन नेपालमा बस्ने हो भने त नेपाली युवाले चाहेको शिक्षा क्षेत्र हेर्नुपर्दैन ?’














