काठमाडौं । नेकपा (एमाले) का नेता लीलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नभएको दाबी गरेका छन् । भण्डारीको पार्टी सदस्यताबारे उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठले बताए । तर, अहिले पार्टीको निर्णय शिरोधार्य गर्नु आफूहरूको धर्म भएको उनले बाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा बोल्दै उनले भण्डारीको पार्टी सदस्यता नवीकरणका सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको बताए ।
उनले भने, ‘हाम्रो पार्टीमा निरङ्कुशता छैन । प्रतिस्पर्धा गरेर अघि बढ्ने हो । अहिले हामीले कसैलाई कारबाही गरेको छैन । हामी कारबाही गर्ने पक्षमा छैनौं । विद्यादेवी भण्डारीको हाम्रो पार्टीमा ठूलो योगदान छ । उहाँको सदस्यता खारेज गरेको छैन । उपयुक्त समयमा सदस्यताबारे छानबिन गरेर उपयुक्त निर्णय हुन्छ । विद्या भण्डारी हाम्रो जिम्मेवार अभिभावक हो । उहाँको पनि यो पार्टी बनाउन योगदान छ । उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न । हामी त पार्टीको कुरा शिरोधार्य गर्छौँ ।’
उनले नेपालमा अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको राष्ट्रवादी व्यक्ति अर्को नभएको बताए । उनले बहुदलीय व्यवस्था आएदेखि कसैले उठाउन नसकेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सिमाको विषय उठाउने व्यक्ति केपी ओली भएको उनी राष्ट्रवादी नेता रहेको बताए । साथै उनले ओलीले कसैले गर्न नसके काम पनि गरेर देखाएको बताए ।














