उनी सानैदेखि ब्याडमिन्टन खेलप्रति रुची राख्थिन् । त्यही रुचीले अमिता गिरी ब्याडमिन्टनकी राष्ट्रिय खेलाडी बनेकी छिन् । उनको दिनचर्या ब्याडमिन्टनमै बित्छ । उमेरले तीनदशक टेक्दै गरेकी अमिता ब्याडमिन्टन जति राम्रो खेल्छिन्, रुपरंगमा पनि सुन्दर छिन् । त्यसैले कतिपयले उनलाई भन्छन्, ‘मोडलिङ गर्ने हो ?’ तर, अमिता भन्छिन्, ‘मलाई मोडलिङमा इच्छा छैन ।’ त्यसो त ब्याडमिन्टनलाई ‘ग्ल्यामरस’ खेलका रुपमासमेत लिइन्छ । र, ब्याटमिन्टन खेलाडीहरू त्यहीअनुसार ग्ल्यामरस देखिन्छन् । अमिता भने ग्ल्यामरसँग सम्बन्ध राख्दिनन् । खेलमै उनी करिअर देख्छिन् । ब्याडमिन्टन खेलमार्फत थुप्रै सम्मान हासिल गरेकी अमिता गिरीसँग रेजिना पाण्डेको जम्काभेट :

ब्याडमिन्टन खेल्न कहिलदेखि सुरु गर्नुभयो ?
लगभग ११ वर्षकी थिएँ, त्यो समयमै सामान्य घरमै साथीभाइ, दिदीबहिनी र छिमेकीसँग खेल्थेँ । त्यसरी खेल्दाखेल्दै सबैले तिमी राम्रो ब्याडमिन्टन खेल्छौँ भन्न थालेपछि टेनिङ लिएँ । र, अन्डर १२ को गेम बिराटनगरमा भएको थियो । त्यसमा पहिलो भएपछि खेलप्रति अझ जोश बढ्दै गयो । यसरी नै शुरुवात भएको मेरो ब्याडमिन्टन यात्रा आजसम्म जारी छ ।
बाल्यकालको खेल्ने जोशमा परिवारको सर्पोट थियो ?
बाबाले ‘खेलिहाल्यौ, अब पढ’ भन्नुहुुन्थ्यो । जहिले पनि बाबा भन्नुहन्छ– पढाइबाहेक ठुलो केही पनि छैन । तर, म लुकिछुपी टेनिङमा जान्थेँ । कतिपटक बाबाको गाली पनि खाएँ । तर, खेलसँगै पढाइ पनि राम्रो गर्दै गएपछि बाबाले बिस्तारै खेल्ने अवसर पनि जुटाइदिनुभयो ।
बाबाको इच्छाविपरीत लाग्दा अहिले कस्तो लागिरहेको छ ?
अहिले बाबालाई पनि खुशी बनाएको छु । पढेर मेरो रहर पनि पूरा गरिरहेकी छु । भर्खरै ब्याचलर सिद्धाएँ । अब स्पोर्टस् साइन्समा मास्टर गर्ने सोच बनाउँदै छु ।
पढाइसँगै खेललाई निरन्तरता दिन कतिको गाह्रो हुँदोरहेछ ?
ग्राहै हुन्छ । एकातिर पढाइलाई निरन्तरता दिनैपर्छ भने गेमलाई पनि बिचमा छोड्न सकिँदैन । एक त म काठमाडौँमा एक्लै मिहेनत गरिरहेकी छु ।
अहिलेसम्म कुनकुन देशमा गेम खेल्नुभयो ?
सानो–सानो गेमहरू क्लवसँग आवद्ध भएर धेरै खेलिसकेँ, गनिसाध्य छैन । बिदेशमा पनि एक दर्जनभन्दा बढी खेलिसकेको छु । पाकिस्तान, भारत, बगलादेश, ताइवान, इन्डोनिशिया, अष्ट्रेलियामा खेलिसकेको छु । गोल्डमेडल, सिल्भर पदकहरु लिएरै फर्केकी छु । विदेशमा खेलेर खाली हात फर्केकी छैन ।
विदेशमा पदक जितेर आउँदा कस्तो महसुस हुन्छ ?
धेरै खुसी लाग्छ । विदेशमा गएर आएपछि खेलाडीले पनि यतिको सुविधा पाउँछभन्दा सपनाजस्तै लाग्छ । बिदेशमा खेलाडीको सम्मान छ । तर, नेपालमा खेलाडीचाहीँ देशको गहना मात्र भन्छन् । विदेशमा खेलाडीलाई जुन सम्मान र प्रोत्साहन दिइन्छ, त्यो देख्दा र सुन्दा नै आनन्द लाग्छ । तर, हाम्रो देशमा समय एड्भान्स हुँदा पनि सुविधा नहुँदा कोचहरू पनि पुरानै शैलीमा टे«निङ दिन बाध्य छन् ।
खेलाडीका लागि नेपालमा खास के कमी छ ?
धेरै कुराको कमी छ । खानपान, व्यायाम, खेलाडीलाई चाहिने इन्स्योरेन्स केही पनि छैन । यहाँ खेलाडीलाई अभाव छ । कहिलकाहीँ दुःख लाग्छ । यस्तै कारण साथीहरू खेल छाडेर बिदेशिएका छन् ।
खेल र खेलाडीका लागि सरकारले के गर्नुपर्छ ?
साच्चै भन्ने हो भने खेलाडीका लागि सरकारले गर्न धरै बाँकी छ । खेलाडीलाई टे«निङदेखि खानपानको सुबिधा तथा इन्स्योरेन्स इत्यादि गर्न आवश्उक छ । उमेर पुगेपछि खेलाडीलाई भत्ता दिँदा अझ राम्रो हुनेछ । राज्यले खेलाडीहरूलाई सुविधा दिने हो भने खेल छाडेर कोही खेलाडी बिदेश पलायन हुँदैन ।
अहिले कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । म आर्मी क्लवसँग आवद्ध भएर खेल्छु । त्यही आर्मीका छोराछोरीलाई कोचिङ पनि दिन्छु । नयाँ गेमको पनि तयारी गर्दैछु ।
खेलबाहेक अरु के गर्नुहुन्छ ?
खेल र पढाइमै अहिले मेरो फोकस छ ।
ब्याडमिन्टन खेलेर कति पाउनुहुन्छ ?
११ बर्षको उमेरमा पहिलो गेमबाट एक हजार रुपैयाँ पाएकी थिएँ । अहिले एउटा टुन्नामेन्ट खेल्दा ७० देखि ८० हजार रुपैयाँसम्म पाइरहेको छु ।
खेलबाट देशलाई चिनाउँदा पाउँदा कस्तो लाग्छ ?
धेरै खुशी लाग्छ । मैले देशका लागि केही गर्ने मौका पाएँजस्तो अनुभव हुन्छ । अझैपनि धेरै उत्कृष्ट खेल खेलेर आफ्नो देशको नाम उँचो बनाऊँ जस्तो लागिरहन्छ ।
छोरी मान्छे भएर खेल्दै हिँडेको देख्दासमाजले के भन्छ ?
कतिले नराम्रो भने होलान् । तर, हाम्रो घरमा छोरा र छोरीको भेदभाव कहिल्यै भएन र छैन । बाबा–ममीले बराबर नै गर्नुभयो । तर बाबाले चाहिँ गेमभन्दा पढेर अरु काम गर भनिरहनुहुन्थ्यो । तर, मेरो रहरले जित्यो । अहिले बाबा पनि मलाई देखेर गर्व गर्नुहुन्छ ।
तपाईँको परिवारमा खेलमा कोही हुनुहुन्छ ?
कोही छैन । बाबा मनी एक्सचेन्ज चलाउनुहुन्छ । ममी हाउसवाइफ हो ।
ब्याडमिन्टनलाई ग्लामरस गेम भन्छन् नि ?
हो नि, कतिले त अब मोडललिङ पनि गर भन्नुहुन्छ । तर, त्यो क्षेत्रमा मलाई कुनै आइडिया र इच्छा पनि छैन । तैपनि अवसर आयो भने भने अनुभवका लागि सोच्न सकिन्छ ।
भविष्यको योजना के छ ?
यही ब्याडमिन्ट खेलमै सक्रिय भइराख्ने सोच बनाएकी छु ।











