Logo
Logo

एनआइसी एशिया : राष्ट्र बैंक किन मौन ?


1.5k
Shares

काठमाडौं । एनआइसी एसिया बैंकले सुरुदेखि नै ग्राहकलाई ऋणको पासोमा पारेर सम्पत्ति हडप्ने गरेको नौलो घटना होइन, तर नियामक निकाय नेपाल राष्ट्र बैंकको कमजोर सुपरीवेक्षणका कारण बैंकको बदमासी बाहिर आउन पाएको छैन ।

यस बैंकले ग्राहकको सम्पत्ति लिलामी गरेर धनी बन्ने सपना देख्न थालेको धेरै वर्ष बित्यो । तर पनि यस्तो गलत कार्य गर्ने बैंकलाई राष्ट्र बैंकले संरक्षण गरेको कारण धेरै ऋणीहरुको उठीबास भएको छ । यस बैंकले अहिले धितो लिलामीका लागि छुट्टै अनलाइन पोर्टल नै बनाएर नवसामन्ती प्रवृत्ति देखाएको छ । जुन बैंकिङ उद्देश्यभन्दा फरक रहेको स्वयं बैंकरहरु बताउँछन् । तर पनि राष्ट्र बैंक कानमा तेल हालेर बसेको छ ।

पछिल्लो समय एनआइसी एसिया बैंकको समग्र पफर्मेन्स पनि खस्कँदो छ । जसकारण उसको व्यवसाय विस्तार घटेको छ भने निष्क्रिय कर्जा पनि उच्च छ । विगतमा सिइओ रोशन न्यौपानेले मनलाग्दी ढंगले कर्जा वितरण नै गरेकाले अहिले त्यो कर्जा नउठ्दा बैंकमा समस्यामा फस्दै गएको हो ।

सुस्त अर्थतन्त्रको बाहना बनाएपनि एनआइसी एसियाबाट प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले कर्जा र धितोको गुणस्तर नै नहेरी कर्जा बाँडेको आरोप लाग्दै आएको छ ।

विगतमा कर्जा बाँडेको यस बैंकले असुली गर्न नसक्दा धेरै कर्जा खराब बनेका छन् । यसले गर्दा बैंकको गैरबैंकिङ सम्पत्ति पनि बढ्दो छ । बैंकले कर्जा नउठे धमाधम लिलामीको नोटिस पठाउने र जबर्जस्ती सम्पत्ति कब्जा गर्ने नीति लिएको छ । हरेक दिनको दैनिक पत्रिका पनि यस बैंकको धितो लिलामीको सूचनाले भरिएबाटै बैंकको अवस्था कस्तो छ भन्ने देखाउँछ ।

यस बैंकले लिलामीको सूचना पठाउँदै गर्दा बैंकिङ क्षेत्रको काम, कर्तव्य र उद्देश्यभन्दा फरक भएर गरिरहेको समेत जानकारहरू बताउँछन् । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिमा नाफा थियो १ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरै रहेकोमा अहिले भारी गिरावट आएको हो ।

यो बैंक अहिले लिलामी सूचना निकाल्ने कारखाना बनिसकेको छ । ऋणीसँग संवाद गर्नु त परै जाओस्, ब्याजदर बढाउँदा समेत जानकारी नगराउने यस बैंकको तौरतरिकाले ग्राहक तथा ऋणीहरू आजित छन् ।

बैंकको निष्क्रिय कर्जा ५.७५ प्रतिशत पुगेको छ, गत वर्षको ३.०८ प्रतिशतबाट झन्डै दोब्बर भएको छ । वित्तीय सूचकहरूमा पनि अन्य बैंकहरू मध्ये सबैभन्दा कमजोर यस बैंकको सूचक छ ।

चैत मसान्तसम्म यस बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरू मध्ये सबैभन्दा कम १ रुपैयाँ ४१ पैसा छ । चैत मसान्तसम्म सबैभन्दा कम आरओई पनि यसै बैंकको छ । एनआईसी एशिया बैंकको १ प्रतिशतभन्दा कम अर्थात् ०.७१ प्रतिशत आरओई छ ।

एनआइसी एशिया बैंकको ९० करोड २२ लाख रुपैयाँले विवितरणयोग्य नाफा ऋणात्मक छ । कर्जा नोक्सानी व्यवस्थाका लागि ३ अर्ब ०५ करोड ०३ लख रूपैयाँ छुट्याएको छ ।

यही मनपरीका कारण अहिले आएर राष्ट्र बैंकले कारबाही स्वरुप चेतावनी नै दिनुपरेको छ । ‘एकीकृत निर्देशन २०७४’ को उल्लंघन गर्दै ऋणीसँगको सम्झौता विपरीत ब्याजदर एकतर्फी बढाइएको पाइएपछि राष्ट्र बैंकले सचेत गराएको थियो । सम्झौतापत्र अपारदर्शी, ब्याज र किस्ताको स्पष्टता नभएको, ऋणीलाई जानकारी नदिएको जस्ता गम्भीर गल्तीमा पनि राष्ट्र बैंकले एनआइसी एसियालाई कारबाही नगरेर केवल सचेत मात्रै गराउन नहुने जानकारहरू बताउँछन् ।

गत आर्थिक वर्षके चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गर्ने एनआईसी एशियालाई ऋणीसँगको सम्झौता विपरित ब्याजदर बढाएपछि एनआईसी एशिया बैंकलाई सचेत गराएको छ ।

‘एकीकृत निर्देशन २०७४ मा उल्लेख भएको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर÷परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका एकिकृत निर्देशनमा मा उल्लेख भएको व्यवस्था अनुसार सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको पाइएन,’ राष्ट्र बैंकले भनेको छ ।

निर्देशनविपरीत ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको पाइएकोले एनआइसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

तुलसीराम अग्रवाल यस बैंकको अध्यक्ष छन् भने प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने छन् । उनीहरूले बैंकमा लूट मच्याएका छन् । जसका कारण लाखौं बचतकर्ताको विश्वास बैंकले गुमाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्