Logo
Logo

नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा


441
Shares

काठमाडौं । मङ्गलवार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आज नेप्से परिसूचक ३०.७६ अङ्क बढेर ३००२.०७ विन्दुमा पुगेको छ । यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो । यस अघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा बन्द भएको थियो । सोपश्चात आज नै नेप्सेको उच्च विन्दु हो । सेन्सेटिभ इण्डेक्स ३.६६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.९७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अङ्क बढेको छ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार १९ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३२१ स्टकको १ लाख ५७ हजार ५२५ पटकको कारोबारमा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरसकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

त्यस्तै, नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने माइ खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको  सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक ८.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ग्रीन भेन्चर्सको करिब ६४ करोडको शेयर किनबेच भएको छ । भने नेपाल पुनर्बीमा कम्पनीको करिब ५७ करोडको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ । त्यस्तै,  बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।  विकास बैङ्क,  वित्त  उपसमूह र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्