
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सुरु भएको छ । बैठक क्यानको केन्द्रीय कार्यालय मुलपानीमा अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा केहि बेरअघि सुरू भएको हो ।
बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को हिसाबसहित १२ एजेन्डामा छलफल हुने छ । जसमा एनपिएलको पहिलो संस्करणको आय व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने, दोस्रो संस्करणको तयारी र एनपिएलको विषयमा परेका मुद्दाको विषय पहिलो एजेन्डा छ ।
यस्तै कर्मचारीको करार सम्झौता, खेलाडीको श्रेणीको पुनरावलोकन र टी–२० विश्वकप २०२६ को तयारी योजनामा पनि बैठकमा छलफल हुनेछ । थप एजेन्डमा २०२६ का लागि आन्तरिक क्रिकेट योजना, क्यालेण्डर तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना छन्।
बैठकमा आइसिसीबाट फुकुवा भएको बजेटको विषयमा पनि छलफल हुनेछ । यो बैठकमा क्यानको विधान संशोधन गर्ने विषय पनि एजेन्डामा समावेश छ । यस्तै क्यानको वार्षिक साधारण सभा र जिल्ला क्रिकेट संघको निर्वाचनमा पनि छलफल हुनेछ ।
विविध विषयको एजेन्डामा आइसिसी तथा एसिसीको वार्षिक साधारण सभा, लुम्बिनी तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको विवाद छ । अन्तिम तथा १२औं एजेन्डाको रुपमा अन्य विषयमा छलफल हुने बताइएको छ ।
एनपीएलको पहिलो संस्करणको समीक्षा र हिसाबकिताब पेश हुने भएकाले यो बैठकलाई निकै चासोका साथ हेरिएको छ । क्यानभित्रको असन्तुष्ट पक्षले एनपीएल अपारदर्शी भएको भन्दै बोर्डमा हिसाबकिताब देखाउनुपर्ने माग गर्दै आएको थियो ।











