काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता मात्र नभई तिनभन्दा पनि उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटनमा उपस्थित साना बालबालिकाहरूलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले पेलेदेखि लिएर अहिलेका मेस्सी, रोनाल्डो वा एमबाप्पेसम्मको दाँजोमा पुग्न सक्ने र त्योभन्दा अगाडि बढ्न सक्ने सामर्थ्य राख्ने खेलाडीहरू नेपालले उत्पादन गर्ने लक्ष्य लिएको छ ।’ त्यसका लागि देशैभर खेलकुद पूर्वाधार निर्माणलाई सरकारले तीव्रता दिएको उनको भनाइ छ । यसले देशभर नै रङ्गशाला र खेल मैदानको कमी हुन नदिने उनको दाबी थियो ।
ओलीले सो कार्यक्रममा दशरथ रङ्गशालाको क्षमता १५ हजार मात्र भएकाले अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अट्ने रङ्गशाला निर्माण हुने जानकारी दिए ।
गत साउन १३ गते प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापालाई भेटर ५० हजार दर्शक क्षमताको सुविधासम्पन्न फुटबल रङ्गशाला निर्माणका लागि छलफल अगाडि बढाएको बताएका थिए ।
उनले रङ्गशालाका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–९ को जगाते क्षेत्रलाई सम्भावित स्थानका रूपमा हेरेका छन् । छलफलमा उक्त क्षेत्रको उपलब्ध जग्गा व्यवस्थापन, सरकारी निकायबीचको समन्वय र निर्माण प्रक्रिया छिटो अघि बढाउने विषयमा कुराकानी भएको उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।











