उपत्यकामा १५ भदौसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द « Drishti News – Nepalese News Portal
Logo

उपत्यकामा १५ भदौसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ भदौ । कोरोना संक्रमण बढ्दै गएपछि हाल जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यकबाहेक सबै सेवा १५ भदौसम्म बन्द गर्ने निर्णय गरेको हो ।
फोरमको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको अवस्था कम नभएकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई १५ भदौसम्म निरन्तरता दिने निर्णय गरेको हो । यसअघि २६ साउनमा बैठकले ९ भदौसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
बैठकका निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावश्यकबाहेकका सबै सेवा १५ भदौसम्म बन्द गर्ने निर्णय भएको बताए ।
बैठकले निषेधाज्ञाको स्थितिलाई १५ भदौसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णयसमेत गरेको छ । यसबाहेक कोभिड–१९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालयअन्तर्गत ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सिआइसीटी)सँग सहकार्यमा सम्पन्न गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसको पीसीआर परीक्षण गर्न आवश्यक रहेको बताए ।
पछिल्लो केही सातायता काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्दै गएको छ । त्यसैले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले ४ भदौदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्