काठमाडौं । लामो चर्चा र बहसपछि हिमालयन बैंकमा रहेको पाकिस्तानी साझेदार हबिब बैंकको सेयर नेशनल लाइफ इन्स्योरेन्सले पाएको छ । नेशनल लाइफको प्रस्ताव हबिव बैंकले स्वीकारेको हो ।
हिमालयन बैंकको सबैभन्दा ठूलो स्वामित्व हबिबसँग थियो । हविबसँग १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर अब नेशनल लाइफले पाउने भएको हो । यो सेयर कारोबारपछि नेशनल लाइफ हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी बनेको छ ।

बैंकले गत जेठ ३० मा सूचना प्रकाशित गर्दै हबिबको स्वामित्वमा रहेको सम्पूर्ण सेयर एकमुष्ठ विक्री गर्नका लागि संस्थापक सेयरधनीबाट आवेदन मागेको थियो । उक्त आवेदन दिने समय बिहीबारसम्म थियो । हिमालयन बैंकसम्बद्ध स्रोतका अनुसार यसबीच तीनवटा खरीद प्रस्ताव परेको थियो ।
हबिबले यी सेयरहरु ११२ रुपैयाँ ८० पैसा न्यूनतम मूल्यांकन राखेर विक्रीका लागि खुल्ला गरेको थियो । यसअघि हिमालयन रिइन्स्योरेन्ससँग भएको ‘डिल’का आधारमा ११२ रुपैयाँ ८० पैसाको मूल्य तय भएको हो । हबिबको सेयर हिमालयन–रिले सिधै खरीद गर्ने कोसिस गरेपछि यसअघि प्रक्रिया रोकिएको थियो । लामो प्रतीक्षा पछि हबिबको सेयर विक्रीका लागि संस्थापकहरुसमक्ष लिलाम निकालिएको थियो ।
संस्थापक समूहले सेयर किन्न निवेदन नदिएको खण्डमा संस्थापक बाहिरका व्यक्ति वा कम्पनीका लागि लिलाम निकाल्नुपर्ने हुन्छ । हिमालयन रिइस्योरेन्स अहिले संस्थापक नभएका कारण यो प्रक्रियाबाट बिक्री नभएको अवस्थामा मात्रै उसलेसमेत विक्री प्रक्रियामा सहभागिता जनाउन पाउने थियो । तर, यो सेयर विद्यमान संस्थापक समूहले नै खरीद गरेको छ ।
गत चैत मसान्तको तथ्यांकमा आधारित रहेर हिमालयन बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार उसको ‘नेटवर्थ’ (खुद सम्पत्ती) प्रतिशेयर १७१ रुपैयाँ ४४ पैसा छ । उसले अहिले पनि थप शेयर निष्काशन (एफपीओ) गरिरहेको छ, जुन १५७ रुपैयाँमा विक्री भइरहेको छ ।
यसअघि १३० रुपैयाँसम्म हाल्न तयार भएको हिमालयन रिइन्स्योरेन्स पछिल्ला वित्तीय प्रतिवेदनहरु खराब देखिन थालेपछि ११२.८० रुपैयाँमा झरेको थियो । यो सेयर कारोबारपछि नेशनल लाइफ हिमालयन बैंकमा सबैभन्दा ठूलो सेयरधनी बनेको छ । उसँग अहिले ०.८८ प्रतिशत संस्थापक सेयर छ । हबिबको सेयर किनेपछि नेशनलसँग यो बैंकमा १३.८१ प्रतिशत संस्थापक स्वामित्व हुनेछ ।
बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार नेशनल लाइफसँग हिमालयनको ०.३७ प्रतिशत साधारण सेयर पनि छ । योसमेत जोड्दा १४ प्रतिशतभन्दा ज्यादाको स्वामित्व नेशनल लाइफसँग हुने देखिन्छ ।











