Logo
Logo

सेयर बजार सामान्य अङ्कले बढ्यो, नेप्सेको वेबसाइट डाउन 


378
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ८.६२ अङ्क बढेको  हो । यो सँगै नेप्से २८६७ बिन्दुमा पुगेको छ । 

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

गत मङ्गलवार ३००२ अङ्कसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अङ्क घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो । 

तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।

आज बैङ्किङ ०.६८ प्रतिशत बढ्यो । जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैङ्क ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशतले घटे ।

सिक्लेस हाइड्रोपावरको ५।७३, स्वेतगंगा हाइड्रोपावरको ५।१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैङ्कको ४.५१ प्रतिशत मूल्य बढ्यो ।

अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ३.२६, नेपाल फाइनान्सको ३.१४ तथा सप्तकोशी विकास बैङ्कको ३.१४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

नेप्सेको वेबसाइट नै डाउन 

नेप्सेको वेबसाइट आज शेयर बजार बन्द भएको केही समयपछि नै डाउन भएको छ । जसका कारण लगानीकर्ता वास्तविक बजार तथ्याङ्क पाउनबाट वञ्चित भएका छन् ।

बजार बन्द भएको करिब २०-२२ मिनेटपछि सामान्यतः नेप्सेले दिनभरको वास्तविक कारोबार विवरण सार्वजनिक गर्ने गर्छ । तर, आज बजार बन्द भएको करिब १ घण्टा बितिसक्दा पनि वेबसाइट खुलेको छैन ।  यो समाचार तयार पार्दासम्म पनि नेप्सेको वेबसाइट खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्