Logo
Logo

राज्यदोहनमा वनमन्त्री अब्बल


2.2k
Shares

काठमाडौं । राज्यका विभिन्न निकायको दोहोनमा कांग्रेसको कोटामा मन्त्री भएका ऐन बहादुर शाही ठकुरी पनि कम देखिएका छैनन । मन्त्रालयको गाडी दुरुपयोगदेखि विदेश भ्रमणमा समेत उनी अग्रभागमा देखिएर राज्यका विभिन्न निकायको दोहोन गरिरहेका छन् ।

वन मन्त्रालयका धेरैजसो गाडी निजी नम्बर प्लेटका छन् । निजी नम्बर प्लेट राखेर प्रयोग भइरहेका गाडीमा स्कारपियो जिप, मर्सिडिज कार, बोलेरो जिप, हुन्डाई कार, फोर्ड, क्रेटा जिप, होन्डा जिप, प्राडो जिप, इसुजु टुपर, फच्युन जिप, स्ट्रोम जिप, पोलो कार छन् । यी गाडीहरु मन्त्रीको सचिवालयले दुरुपयोग गरिरहेको स्रोतको दावी छ ।

बाहिर नदेखिएका तथा भित्रभित्रै सबैभन्दा बढी राज्य दोहोन गरिरहेका वनमन्त्री शाही सबैभन्दा बढी विदेश शयर गर्ने मध्येका एक हुन । छोरा, श्रीमतीसहित विदेश भ्रमण गर्ने शाही आसेपासेलाई विदेश सयर गराउने काममा तल्लीन हुने गरेका छन् ।

गत कात्तिकमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसीसीसी का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन कोप २९ मा वन तथा वातावरण मन्त्रालयको जम्बो टोली सहभागी भएका थिए । जलवायु विज्ञलाई पठाउनुपर्ने सम्मेलनमा मन्त्रालयले आफ्नै २६ जना कर्मचारीको अजरबैजानको बाकु लगेका थिए ।

अहिले तिनै शाहीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को कोर फन्डबाट आफू र कान्छी श्रीमती र निजी सचिव नर्वे पुगेर फर्केका छन् । आफ्नो भ्रमणमा एनटीएनसीको फन्डबाट श्रीमती र निजी सचिवलाई समेत लगेको खुलेको छ ।

एनटीएनसीबाट एक जना अधिकृत तथा प्रतिनिधि मात्रै गए हुने सामान्य छलफल कार्यक्रममा मन्त्री शाही ठकुरी, उनकी श्रीमती बसना शाही, निजी सचिव भीम विष्टलाई लिएर कोषका सदस्य सचिव डा. नरेश सुवेदी नर्वे गएका थिए । उनीहरूसँगै कोषका अधिकृत डा. मधु क्षेत्रीसमेत थिए । नर्वेस्थित युनिभर्सिटी अफ इन्ल्यान्डले सहयोग गरिरहेको नोरपार्ट परियोजनाको समाप्तिपछि बाँकी रहेको रकमबाट उनीहरूको खर्च व्यवस्थापन गरिएको स्रोतको दावी छ ।

विश्वविद्यालयले सहयोग गरेको नोरपार्ट परियोजनाले काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा नेपाली र नर्वेजियन विद्यार्थीलाई अध्ययन–अनुसन्धानमा जोड्दै आएको छ । हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधि अध्ययनरत छन् ।

कोर फन्डमा जम्मा हुने परियोजनाको बाँकी रहेको रकम दुरुपयोग गरी नर्वे भ्रमणमा निस्किएपछि आयोजकसमेतले चासो राखेका थिए । यो परियोजना सदस्य–सचिव सुवेदीले आफैले नेतृत्व गर्दै आएका छन् । उनले नै यो सबै भ्रमणको योजना र तयारी गरेका थिए । सोह्र महिनाका लागि सदस्य सचिवमा नियुक्त गरिएका डा. सुवेदीको कार्यकाल सकिन करिब चार महिना बाँकी छ । सदस्य–सचिव नियुक्तिको अधिकार वन मन्त्रीलाई छ ।

प्राप्त विवरण अनुसार, एनटीएनसीले तोकेको भत्ता तथा अन्य सुविधामा मन्त्रीकी श्रीमती र निजी सचिवले समेत भ्रमण गरेका हुन् । मन्त्री शाही ठकुरी कोषको अध्यक्षका हैसियतमा नर्वेको भ्रमण गरे पनि श्रीमती र निजी सचिवको खर्चका बारेमा कोष तथा परियोजनामा सहयोग गरिरहेको विश्वविद्यालयसमेतले चासो राखेको थियो ।

भ्रमणमा भएको हवाई आवतजावत, होटेल, खाना तथा अतिरिक्त भत्तासहित सबै सेवा सुविधा कोषको कोर फन्डबाट गरिएको हो । स्रोतका अनुसार, होटेल, खाना, यातायात, हवाईजहाजबाहेक अतिरिक्त भत्तासमेत सबैलाई छुट्याइको थियो । विश्वविद्यालयको एकेडेमिक कार्यक्रममा दम्पतीसहित मन्त्री पुगेपछि कोषको खर्च दुरुपयोग भएको भन्दै विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्