काठमाडौं । काठमाडौंमा यतिबेला दुई एसएसपीले कमाण्ड गरिरहेका छन् । काठमाडौको अपराध नियन्त्रणमा खासगरी सधै दुई एसएसपीको लफडा र होडबाजी हुने गर्छ । काठमाडौं परिसर हाँक्ने र उपत्यका अपराध अनुसन्धान कार्यालय सम्हाल्ने दुई एसएसपीले आफ्नो पावर र तुजुक बेलाबखत मिडियामार्फत देखाउने गर्छन । अहिले भने अपराध अनुसन्धान कार्यालयले गरेको अप्रेशनलाई काठमाडौं परिसरले जस लिने काम गरेको छ ।

अपराध अनुसन्धान कार्यालयले गरेको निगरानीमा परिसरले सुरक्षा दिनु कर्तव्य भएकाले सुरक्षा सहयोग मागेको विषयलाई आफ्नै अप्रेशन भएको दाबी प्रस्तुत गर्नु त्यति शोभनीय थिएन । अपराध अनुसन्धान कार्यालयले पनि प्रचारबाजी गर्न खोजेको छैन तर परिसरका एसएपीबाट भने निरन्तर गुण्डा अप्रेशनको अन्तर्वार्ता आउनुलाई प्रचारको भोक लागेको देखिन्छ ।
अहिले परिसरका कमाण्ड एसएसपी विश्व अधिकारीले गरिरहेका छन भने उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व उनकै व्याची रमेश बस्नेतले गरिरहेका छन् । यद्यपि, आगामी दिनमा डिआइजी बढुवा हुने क्रममा अधिकारी र बस्नेतको प्रतिस्पर्धा देखिदैन ।
उनीहरूले पछिल्लो समय प्रचारमा होडबाजी गरिरहेको विषय गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनको पक्राउ हो । उनलाई काठमाडौंमा पक्राउ गर्नुपर्ने उजुरी नभए पनि अस्वाभाविक गतिविधिले प्रहरी हिरासतमा पु¥याएको छ । तर, भक्तपुरमा भने १० महिनादेखिको उजुरी कायमै छ । प्रहरीको इन्काउन्टर अप्रेसन सुरु भएसँगै आपराधिक गतिविधीमा निष्क्रिय बनेका उनी धर्मकर्ममा केन्द्रित भए पनि उनी हङकङ गइरहन्थे ।
अहिले नेपालमै रहेका उनलाई गत बिहीबार आफ्ना समूहका युवाहरूलाई भेला पारेर सडक नै छेकिनेगरी मध्यरातसम्म हो–हल्ला गरेको आरोपमा प्रहरी हिरासतमा पुगे । पक्राउ परेकामध्ये १९ जनामाथि प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयमा पेस गरेकोमा अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ ।
यही विषयमा दुई एसएसपी जस लिन होडबाजीमा देखिए । अपराध अनुसन्धान कार्यालयले नियमित प्रेस रिलिज जारी गरेपछि मात्रै यो अप्रेशन परिसरको मात्र होइन रहेछ भन्ने खुलेको थियो । शुरुमा परिसरको मात्रै अप्रेशन हो कि भन्ने भ्रम दिइएको थियो । केही समयपछि अपराध अनुसन्धान कार्यालयको तर्फबाट एसपी काजीकुमार आचार्यको समेत भनाइ कोटमा रुपमा आउन थाल्यो । यसरी विस्तारै भ्रमको पर्दा च्यातियो । ‘हामीलाई प्रचार चाहिएको होइन काम हो, हामी काममा लाग्यौँ, परिसरका साथी प्रचारतिर लाग्नु भएछ’, अनुसन्धान कार्यालयका एक अधिकृतले दृष्टिसँग भने ।
बुधबार रातीतिर भक्तपुरमा दक्षिण भारतीय चलचित्रमा देखिने रिलका कतिपय दृष्य जस्तो लाग्ने जन्मदिनको उत्सव मनाइरहेको भिडियो सार्वजनिक भएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी टेकबहादुर तामाङले गुण्डाहरूको यस्तो हर्कत रोक्नुपर्ने बताएका थिए । बिहीबार बिहान जन्मदिन मनाउन आफ्ना समर्थकसहित चक्रे पशुपति गएका थिए । मन्दिर दर्शन गरेर पशुपतिमा रहेकालाई पैसा बाँड्दै उनी महाराजगञ्ज नै फर्किएको अर्को भिडियो बाहिर आएको थियो । राती भने बाटो नै छेकेर जन्मदिन मनाइरहेको अवस्थामा उनी फेला परेका हुन् । उनले लाइन लगाएर केकहरू काटेर रमझम गर्न बेलुका भने आफ्नै आधार क्षेत्र महाराजगञ्जमा रहेको होटेल साम्बाला फर्किएका थिए । चक्रेका समर्थकले मदिरा पिएका थिए । होटेलमा चक्रे समूहका सदस्यसँगै अन्य ग्राहक पनि थिए ।
होटेलको आठौँ तलाबाट मध्यरातसम्म अश्लील बोलेको, चर्को स्वरमा होहल्ला भएको भन्दै महाराजगञ्ज प्रहरीको सहयोगमा अनुसन्धान कार्यालयको टोली पुगेको थियो । त्यसपछि त्यहाँ संयुक्त अप्रेशन शुरु भएको थियो । होटलमा पुगेका सबैलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले चक्रेलाई अभद्र व्यवहारमा अनुसन्धान भैरहेको छ ।











