काठमाडौं । देशको सबैभन्दा पुरानो र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा चरम बेथिति देखिएको छ । नेपाल राष्ट्र बैंकले पटक–पटक निर्देशन दिँदा पनि नियामकीय मापदण्डको धज्जी उडाउँदै आएको यस बैंकले कर्जा वर्गीकरणदेखि जोखिम व्यवस्थापनसम्म चरम लापरवाही गर्ने गरेको पाइएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय बैंकको ‘एकीकृत निर्देशन’ अन्तर्गतका विभिन्न प्रावधानको खुलेआम उल्लंघन गर्दै आएको भन्दै छ । कर्जाको सही वर्गीकरण नगर्ने, भाखा नाघे पनि समयमै वर्गीकरण परिवर्तन नगर्ने, जोखिम भार गणनामा लापरवाही गर्ने, नोक्सानीको लागि व्यवस्था नगर्ने जस्ता गम्भीर त्रुटिहरू बैंकभित्र संस्थागत रूपमा देखिँदै आएका छन् । यसबारे राष्ट्र बैंकले बैंकलाई सचेत र कारबाहीसमेत गराएको छ । यद्यपी बैंकको अवस्था भने सुध्रिएको छैन ।
राष्ट्र बैंकको निर्देशनमा निश्चित प्रकृतिका कर्जाहरूलाई सुक्ष्म निगरानी (वाच लिस्ट) मा राख्नुपर्ने स्पष्ट प्रावधान छ । तर राष्ट्रिय वाणिज्य बैंकले ती कर्जाहरूलाई सजिलै सामान्य कर्जाको रूपमा देखाएर आँखा चिम्लिएको देखिएको छ ।
यस्तै कर्जा भाखा नाघेको अवधि अनुसार पुनः वर्गीकरण गरिनुपर्ने व्यवस्था छ । तर बैंकले यो प्रक्रिया बेवास्ता गर्दै असावधानीपूर्वक पुरानै श्रेणीमा राख्दै आएको छ, जसले वित्तीय विवरण र जोखिम स्तरलाई वास्तविकताभन्दा ‘कम जोखिमयुक्त’ देखाउने काम भएको छ ।
कर्जाको बक्यौता अवधि अनुसार ‘कर्जा नोक्सानी व्यवस्था’ कायम गर्नुपर्छ । तर बैंकले आवश्यक अनुपातमा रकम छुट्याउने गरेको छैन । त्यसकारण कर्जामा हुने सम्भावित घाटाको जोखिम बैंकको पूँजी क्षमतामाथि गम्भीर असर पार्ने खतरामा पुगेको छ । यस बैंकले आफ्नो निष्क्रिय कर्जा पनि लुकाउँदै आएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनविपरीत गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रूपैयाँ जरिवाना गरिएको थियो । गत आवको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.६९ प्रतिशत पुगेको छ । सार्वजनिक हुन बाँकी चौथो त्रैमासको वित्तीय विवरणमा खराब कर्जा झनै बढ्ने बैंकर बताउँछन् ।
बैंकले राष्ट्र बैंकबाट जारी ‘चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन)’ मा स्पष्ट गरिएको ऋणीको नगद प्रवाह, मौसमी माग, कारोवार चक्रको मूल्यांकनजस्ता आधारमा कर्जा स्वीकृत गर्ने मापदण्डलाई समेत बेवास्ता गरेको पाइएको थियो ।
यसपछि सबै गम्भीर कमजोरीप्रति ध्यान दिँदै राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) अनुसार औपचारिक रूपमा सचेत गराएको थियो ।
नियम उल्लंघन दोहोरिए थप कडा नियामकीय कदम चालिने केन्द्रीय बैंकले जनाएको थियो । तर यस बैंकको अवस्था थप सुध्रिएको छैन । यी सबै प्रकरणले सरकारी स्वामित्वमा रहेका बैंकहरू पनि नियमन उल्लंघन र लापरवाहीमा लागिरहेको देखाउँछ । ‘सरकारी’ नामको आडमा नीति नियम मिच्ने, र नियामकको चेतावनीलाई सामान्य रूपमा लिन सक्ने प्रवृत्तिले सरकारी बैंकको भरोसायोग्यता र वित्तीय अनुशासनमा प्रश्न खडा गरेको जानकारहरू बताउँछन् ।
बैंकको व्यवस्थापनले पनि आन्तरिक प्रणाली सुधार गर्नु, जोखिम व्यवस्थापन प्रणाली बलियो बनाउनु र नियामक निर्देशनको स्पष्ट पालना गर्नेतर्फ चासो देखाएको छैन ।
यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनविपरीत गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रूपैयाँ जरिवाना गरिएको थियो । गत आवको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.६९ प्रतिशत पुगेको छ । सार्वजनिक हुन बाँकी चौथो त्रैमासको वित्तीय विवरणमा खराब कर्जा झनै बढ्ने बैंकर बताउँछन् ।
अघिल्लो आर्थिक वर्ष १०.४१ प्रतिशत रहेको बैंकको पुँजीकोष अनुपात गत आवको तेस्रो त्रैमासमा घटेर ९.२३ प्रतिशत छ । जसले गर्दा गत वितरणयोग्य नाफा १ अर्ब २ करोडले ऋणात्मक भएको छ । बैंकको नाफा पनि ४९ प्रतिशतले घटेको छ भने बैंकको खुद ब्याज आम्दानीमा भएको गिरावटसँगै कर्जा नोक्सानी व्यवस्था खर्च बढेको छ ।











