Logo
Logo

काभ्रेमा थप १७ जनामा कोरोना, भुम्लुको ८ नं वडा सिल


- दृष्टि न्युज/संवाददाता


बनेपा, १० भदौं । काभ्रेपलाञ्चोकमा एकै दिन थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई महिला, वर्ष २०, ३२, ४० र ५५ का पुरुष गरी छ, बनेपा नगरपालिकाका वर्ष चारका एक बालकसहित ५९ वर्षको पुरुष र वर्ष नौ, २८, ३२ र ६० का महिला गरी छ, मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ का स्वाथ्यकर्मी महिला र मण्डनदेउपुर नगरपालिकाकै वर्ष ४९ का एक महिला रहेको डा झाले बताए ।
यसअघि शनिबार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैँसेपाटीमा कार्यरत कर्मचारी र उपचाररत बिरामी गरी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित काभ्रेपलाञ्चोक जिल्लामा संक्रमितको संख्या १६२ पुगेको छ । तीमध्ये आजसम्म ६३ जना निको भएर घर फर्किसकेका छन् भने ९७ व्यक्ति विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।
यसैबीच काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–८ मा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पूरै वडा क्षेत्र सिल गर्नुका साथै गाउँपालिकाबाट हुने सेवाप्रवाहसमेत अनिश्चितकालका लागि बन्द गरिएको छ । पालिकाभित्रमा थप संक्रमण फैलिन नदिन भुम्लु गाउँपालिकाले मंगलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाईँले बताए ।

प्रतिक्रिया दिनुहोस्