काठमाडौं । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो ।

हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीनजना चालक दलका सदस्य रहेका थिए । मृत्यु हुनेमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेको समाचार उल्लेख छ ।
यस्तै, तीनजना चालक दलका सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेको बीबीसीले जनाएको छ ।
राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो । राष्ट्रपतिको कार्यालयबाट जारी भिडियो सन्देशमा यो दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ भन्दै समवेदना व्यक्त गरिएको छ । राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति कार्यालयले झण्डा आधा झुकाउन भनेको छ ।











