Logo
Logo

लाउडा प्रकरण : आज पूर्ण इजलासमा सुनुवाइ हुँदै


1.3k
Shares

काठमाडौं । लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदैछ । १८ वर्षदेखि पेसी तोकिने र हेर्ने नभ्याउने सूचीमा परेर अल्झिरहेको यो मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना, बालकृष्ण ढकाल, मेघराज पोखरेलको पूर्ण इजलासमा पेसी तोकिएको छ ।

यो मुद्दा तत्कालीन पुनरावेदनबाट विशेष अदालत हुँदै १३ माघ २०६४ मा सर्वोच्च आइपुगेको हो । २८ साउन २०६४ मा विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्य कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले सबै आरोपीलाई सफाइ दिएको थियो ।

८१औँ पटक पेसी तोकेपछि यो मुद्दामा ६ वैशाख २०७४ मा फैसला दिन खोज्दा संयुक्त इजलासका दुई न्यायाधीशको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा गएको थियो । पेसी तोकिने, हेर्न नभ्याइने, स्थगितको लामो सूचीमा परेको यो मुद्दाको पेसी आजका लागि तोकिएको हो ।

१७ असोज २०५७ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमले बोइङ विमान भाडामा ल्याउँदा भएको भनिएको भ्रष्टाचार नै लाउडा प्रकरण हो । सोही समयमा चाइना साउथ वेस्ट कम्पनीसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको चौथो विमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भएको थियो ।

अस्ट्रियाको लाउडा एयरबाट विमान भाडामा ल्याउँदा नेपाल वायुसेवा निगमलाई दुई अर्ब रुपैयाँको नोक्सान गरेको निष्कर्ष निकालिएको थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने ३८ करोड ९७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले जेठ २०५८ मा तत्कालीन पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्