काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औँ स्थानमा पुगेको छ ।

यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औँ स्थानसम्म पुगेको थियो । यसअघि १००औँ वरियतामा रहेको नेपाल यसअघिको अङ्कबाट ४६.४९ अङ्क बढेर नयाँ वरियतामा ८७औँ स्थानमा पुगेको हो । एसियाली राष्ट्रहरूमध्ये नेपाल १६औँ स्थानमा छ ।
नेपालले महिला एसियन कप छनोटमा श्रीलङ्का र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो । फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ ।











