काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीले काठमाडौंमा आयोजना गरेको शैक्षिक संवादका क्रममा राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘नैतिक रूपमा राज्य व्यवस्थाका सभापति रामहरि खतिवडाले समितिको सभापति पदमा बस्ने अधिकार छैन’, प्रचण्डले भने-‘राजीनामा दिएर राजनीति सुरक्षित गर्न सक्नुहुन्छ ।’ उनले खतिवडाले त्यसो नगरे गल्ती हुने समेत बताए ।
निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानी छानबिन गर्न बनेको समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई दोषी ठहर गरेको छ । समितिले मङ्गलवार प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्दै खतिवडालाई नैतिक रूपमा दोषी ठहर गरेको छ ।














