Logo
Logo

‘महाभ्रष्ट’ मेयर: आफूँलाई ‘नायक’ देखाउन बनाए फिल्म, तर ‘खलनायक’ बने


5.6k
Shares

काठमाडौं । आफूलाई  ‘नायक’ देखाउन खोज्ने सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा विशेष अदालतबाट दुई फरक भ्रष्टाचार मुद्दामा  ‘खलनायक’ ठहरिएका छन् । आफूलाई ‘नायक’का रूपमा प्रस्तुत गर्न फिल्म ‘मेयर’ बनाएका थापाले त्यो फिल्म रिलिज नहुँदै कानुनी रूपमा बदनाम पात्र बन्न पुगेका छन् ।

मेयर थापाले आफैँलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएको बायोपिक फिल्म ‘मेयर’ रिलिज नहुँदै दुई मुद्दामा दोषी ठहर भएपछि फिल्मको भविष्य समेत अन्योलमा परेको छ । मेयर थापा विशेष अदालतबाट एकैदिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका हुन् । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भरतताल बनाउदा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दोषी ठहर गरेको हो । विशेषले नै उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको अर्को भ्रष्टाचारको आरोपमा समेत दोषी ठहर गरेको छ । 

बुधबार राति विशेष अदालतले सार्वजनिक गरेको संक्षिप्त आदेश अनुसार, भरतताल भ्रष्टाचारमुद्दामा मेयर थापा सहित विमलकुमार पोखरेल र सागर पौडेल पनि दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरूमाथि ३० करोड २९ लाख रुपैयाँ नदीजन्य पदार्थ हानीनोक्सानी गरेको ठहर गरेको हो ।

दोषी ठहर भएकाहरूलाई सजाय निर्धारणका लागि विशेष अदालतले अर्को बिहीबार(२९ साउन)मा पेशी तोकेको छ । ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । विशेष अदालतले त्यो भ्रष्टाचारमा मुछिएका अरू आरोपितलाई सफाइ दिएको छ । लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले आरोपबाट सफाइ पाएका छन् ।

विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जनको अर्को भ्रष्टाचार मुद्दामा पनि मेयर थापालाई दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई ३ करोड ४५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेकोमा दोषी ठह¥याएको हो ।

९ करोड १४ लाख रुपैयाँ बैध रुपमा कमाएका उनले १२ करोड ५९ लाख रुपैयाँको सम्पत्ति जोडेको भेटिएको विशेष अदालतको ठहर छ । अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गरेको थियो ।

उनलाई विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद, विगो र त्यही बराबरको जरिवाना तिर्नुपर्ने फैसला गरेको हो । विशेष अदालतले उनले ३ करोड ४५ लाख बिगो बुझाउनुपर्ने ठहर गरेको हो ।

भ्रष्टाचार मुद्दा लागेपछि मेयर थापा २७ चैत, २०८० देखि निलम्बनमा छन् । दोषी ठहर भएकाले उनको निलम्बन यथावत रहनेछ ।

आरोप के थियो ?

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी थियो ।

ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरिएको थियो । उनीहरूमाथि भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको विक्रीवितरणमा अनियमितता भएको उजुरी परेको थियो ।

सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा स्वीकृती नलिई माछा पोखरी निर्माण गरेको आरोप थियो । भरतताल भनी नाम राखिएको उक्त माछापोखरीको प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत नभएको भेटिएको थियो ।

नगरपालिकाले सागरनाथ वन परियोजना र नेपाल सरकारको स्वीकृतिविना वाग्मती नदीको बहाव प्रयोग गरेर ताल निर्माण गरेको थियो ।

पहिलो पोखरीबाट १७ लाख ८८ हजार र दोस्रो पोखरीबाट २१ लाख ८४ हजार गरी कुल ३९ लाख ७३ हजार नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै अख्तियारले त्यसमा अरू गणना गर्दा थप ७ लाख घनमिटर नदीजन्य पदार्थ नगरपालिकाले बिक्री गरेको आरोप लगाएको थियो । नगरपालिकाले ३३ लाख ५९ हजार घनमिटर रोडाढुंगाको मात्रै हिसाब देखाएको भन्दै अरू आम्दानी हिनामिना गरेको आरोप उनीहरूमाथि थियो ।

१३ लाख ४० हजार घनमिटर रोडाढुंगाको हिसाव नदेखिएको र त्यसले नगरपालिकामा हानिनोक्सानी पुगेको भन्दै अख्तियारले भ्रष्टाचारमुद्दा दायर गरेको थियो । २६ करोड ८० लाख नोक्सान भएको र भ्याट समेत जोड्दा त्यो रकम ३० करोड २९ लाख पुग्ने अख्तियारको दाबी थियो ।

‘मेयर’ अलपत्र

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहितले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गरेपछि उनको बायोपिक फिल्म ‘मेयर’को भविष्य अन्योलग्रस्त बनेको छ ।

फागुन २ गते निर्देशक दीपेन्द्र के खनालले शीर्ष भूमिकामा खगेन्द्र लामिछानेलाई लिएर फिल्म छायांकन गरेका थिए । छायांकन सकिएर पनि यो फिल्म पोस्ट प्रोडक्सनको चरणमा थियो ।

निर्देशक खनाल त्यसपछि ‘हरिबहादुरको जुत्ता’मा व्यस्त रहे । उनी यतिबेला अर्को बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकनमा व्यस्त छन् ।

‘मेयर’को निर्मातामा सागर मैनाली र अरविसा थापा रहेको बताइएको थियो । जसको जीवनमाथि फिल्म बनेको छ, सोही व्यक्तिलाई भ्रष्टाचार मुद्दामा दोषी ठहरपछि फिल्मको निर्माण पक्षले प्रतिक्रिया दिएको छैन ।

प्रचारको मोहले डुबायो

दुई वर्षअगाडि ३२ जनाको समूहले अभिनय गरेको एउटा म्युजिक भिडियो सार्वजनिक भयो जसमा मेयर थापा र उनकी छोरी अर्बिसा पनि थिए। त्यो म्युजिक भिडियोको उद्देश्य थापाले आफ्नै नामबाट निर्माण गरेको भरत तालको प्रचार गर्नु थियो। करिब १४ मिनेटको ‘भेटघाट गरौँ हजुर भरत तालैमा’ गीतको भिडियोमा ‘फोकस’ मेयर थापालाई नै गरेको देखिन्छ ।

म्युजिक भिडियो सार्वजनिक भएको दुई वर्ष नबित्दै थापा आफ्नै लगानीमा फिल्म बनाउने निर्णयमा पुगे। बागमती नगरपालिकाको वडा नं. ४ र १२ मा पर्ने भरत तालको प्रचार गरी आफूलाई ‘स्टार’ बनाउन र अनियमितता ढाकछोप गर्न उनी फिल्म निर्माणसम्म पुगेका थिए ।

तर राजनीतिक छवि चम्काउने प्रयास उल्टो प¥यो । फिल्म रिलिज नहुँदै उनी ‘नायक’ होइन, कानुनी रूपमा ‘खलनायक’ सावित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्