काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा मदिरा नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर ३५ वर्षीय लालु यादवको मृत्यु भएको घटनाको छानबिनका लागि समिति गठन गर्ने सहमति भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीले छानबिनका लागि तयार रहेको बताएपछि मृतकका आफन्त र प्रशासनबीच बिहीबार सहमति भएको हो ।
समिति गठन नभए पनि घटनामा संलग्न इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको छ । सहमतिपछि मृतकका आफन्तले शव बुझ्न र पोष्टमार्टम गर्न तयार भएका छन् ।
बुधवार आफन्तले विभिन्न माग राख्दै राजविराजमा प्रदर्शन गरेका थिए । मङ्गलवार राति नेपाल-भारत सीमा क्षेत्रमा मदिरा तस्करीको सूचनापछि प्रहरी पुगेको थियो । सो क्रममा झडप हुँदा प्रहरीको गोली लागेर लालुको मृत्यु भएको थियो । मृतक पक्षले प्रहरीमाथि अनावश्यक गोली चलाएको आरोप लगाएको छ भने प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेको छ ।














