Logo
Logo

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

राँझा, ११ भदौं । बाँकेमा कोरोना संक्रमणबाट बिहीबार थप एक ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे संक्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआएपछि आज बिहान मृत्यु भएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने ६ जना पुगेका छन् ।
यसअघि नरैनापुर गाउँपालिका– ५ निवासी २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका –६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका –२ निवासी ७० वर्षीया महिला, नेपालगञ्ज ५ निवासी ६२ वर्षीय पुरुष र नेपालगञ्ज –१ निवासी ३७ वर्षीय युवकको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्