
काठमाडौं, ११ भदौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुन सक्ने बताए ।
उनले संक्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखे । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढीरहेको उनको भनाइ छ । संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न उनले अनुरोध गरे ।
प्रवक्ता डा. गौतमले संक्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरेका छन् । सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट संक्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । उनका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ ।
बिहीबार एकै दिन एक हजार १११ जनामा संक्रमण देखिएको छ भने आठ जनाको संत्तःमणका कारणले निधन भएको छ । उनले संक्रमणको रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारीलाई सहानुभूति प्रकट गर्न आग्रह गरे । ‘नेपालमा सबै अंग संक्रमणको रोकथाम र नियन्त्रण गर्न अहोरात्र खटिएका छन्, खटिएका कर्मचारीका परिवार पनि संक्रमणबाट पीडित भएका छन्’ उनले भने, ‘यस्तो कठिन घडी संक्रमण रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारी र परिवारप्रति सबैले सहानूभुति राख्नुहोस ।’
संक्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उनले बताए । विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने उनको भनाइ छ ।











