काठमाडौं । कोशी प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदलको चर्चा तीव्र बनेको छ, तर आन्तरिक विवाद, शक्ति सङ्घर्षका कारण जटिल बन्दै गएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री फेरबदलका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग छलफल तीव्र पारेका छन् ।

काङ्ग्रेसभित्रको गुटबन्दी र बागमती प्रदेशको विवादले कोशीमा मन्त्री हेरफेर अनिश्चित बनेको छ । मुख्यमन्त्री कार्कीले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । केही दिनअघि उनले काङ्ग्रेस सभापति देउवासँग पनि छलफल गरेका थिए । दुवै भेटमा मन्त्रीमण्डल फेरबदलको विषयमा छलफल भएको थियो ।
कार्कीले प्रदेशको समग्र परिस्थितिबारे दुवै नेतालाई जानकारी गराइसकेका छन् । ओली र देउवाले मन्त्री फेरबदलमा ‘सल्लाह गरेर निर्णय गर्ने’ जवाफ दिएका छन् । तर, बागमती प्रदेशमा काङ्ग्रेस र एमालेको विवादका कारण देउवाले कोशीमा तत्काल मन्त्री फेरबदल रोक्न सुझाएका छन् ।
कोशी प्रदेशमा काङ्ग्रेस संसदीय दलभित्र विवाद छ । वर्तमान सरकारमा डा. शेखर कोइराला समूहको सहभागिता छैन । मन्त्री परिवर्तन गर्दा देउवा र कृष्णप्रसाद सिटौला समूहबीच भागबन्डा हुने सम्भावना छ, तर कोइराला समूहलाई व्यवस्थापन गर्न चुनौती छ । काङ्ग्रेसका २९ सांसदमध्ये २७ जना मन्त्री बन्न चाहने छन् । तर कांग्रेसलाई व्यवस्थापन गर्न निकै सकस भइरहेको छ ।
काङ्ग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू खगेनसिंह हाङगाम र सदानन्द मण्डल विवादमा तानिएकाले पनि मन्त्रीपरिषद् विस्तारले अहिले कोशीका स्थान पाएको हो । पर्यटन, वन तथा वातावरणमन्त्री मण्डलमाथि क्यूआर कोडमार्फत घुस मागेको गम्भीर आरोप छ । मन्त्रालयअन्तर्गतका कार्यालयहरूबाट पैसा असुली गर्न सचिवालयका कर्मचारी प्रयोग गरेको भन्दै उनको आलोचना चुलिएको छ ।
यद्यपि, मण्डलको सचिवालयले यो आरोपलाई ‘भ्रामक र अतिरञ्जित’ भनेको छ । यस्तै, उद्योग, कृषि तथा सहकारीमन्त्री हाङगाममाथि ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्षलाई मुक्का प्रहार गरेको आरोप छ ।
यी दुवै मन्त्री देउवासँग निकट मानिन्छन्, जसले मन्त्री फेरबदलको प्रक्रियालाई थप जटिल बनाएको छ । मुख्यमन्त्री कार्कीले मन्त्रीहरूको विवादमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । मन्त्रीहरूको आचरणमाथि प्रश्न उठ्दा पनि उनी सत्ताको समीकरण टिकाउनमै केन्द्रित देखिन्छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको घुस काण्डमा जवाफ मागे पनि कार्की मौन छन् ।
यसबीचमा कार्कीले काङ्ग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईसँग पनि मन्त्री फेरबदलको विषयमा छलफल गरेका छन् । भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालय सम्हालिरहेका राईले सकारात्मक सङ्केत दिए पनि काङ्ग्रेसको आन्तरिक राजनीतिका कारण तत्काल निर्णयमा पुग्न कठिन भएको छ ।
कार्की २०८१ वैशाख २७ मा मुख्यमन्त्री बनेपछि काङ्ग्रेस २८ भदौमा सरकारमा सहभागी भएको थियो । एमाले र काङ्ग्रेसबीच १३-१३ महिनामा मन्त्री हेरफेर गर्ने सहमति भए पनि काङ्ग्रेस सरकारमा सहभागी भएको १० महिना मात्र भएको छ । यद्यपि, मन्त्रीहरूको विवादास्पद छविका कारण हेरफेरको चर्चा चुलिएको छ ।
भूपेन्द्र राईले भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालय एक्लै सम्हाल्नुपरेको अवस्थाले काङ्ग्रेसभित्रको असमानता प्रष्ट हुन्छ । कोशीमा काङ्ग्रेसबाट भूपेन्द्र राई, खगेनसिंह हाङगाम, सदानन्द मण्डल र राज्यमन्त्री भूमिप्रसाद राजवंशी छन् । एमालेबाट रेवतीरमण भण्डारी, रामबहादुर मगर, पाँचकर्ण राई, एकराज कार्की र राज्यमन्त्री सृजना राई छन् । मन्त्री फेरबदलमा काङ्ग्रेसको देउवा र सिटौला समूहले प्राथमिकता पाउने सम्भावना छ, तर कोइराला समूहलाई व्यवस्थापन नगर्दा विवाद बढ्ने जोखिम छ ।











