Logo
Logo

नाइमाको लोकप्रियताले नाडालाई झड्का


3.4k
Shares

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सोमबार बेलुका समापन हुँदैछ । पाँच दिनका लागि आयोजित एक्स्पोमा अवलोकनकर्ता बढेपछि नाइमाले एकदिन समय थपेर सोमबार समापन गरेको हो । यसले नै नाइमाप्रतिको उपभोक्ताको आकर्षण ह्वात्तै बढेको पुष्टि गर्छ । स्थापनाको छोटो समयमै नाइमाले बृहत अटो शो गरेर नाडालाई झट्का दिएको छ । नाडाले यही भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमै अटो शोको आयोजना गर्दै छ ।

नाडामा केही व्यापारी घरानाहरू हाबी भएपछि नाडाकै पदाधिकारीहरू नाइमामा आवद्ध भएका हुन् । नाडाभित्र विवाद चुलिएको छ । विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयले मध्यस्थता गरेपनि नाडाका अध्यक्ष करण चौधरी समस्या समाधान गर्न गम्भीर बनेका छैनन् । जसका कारण आगामी साधारण सभा नै अन्योलमा परेको छ ।

जिल्ला प्रशासन कार्यालय सूत्रका अनुसार विधान बमोजिम नाडाका दुबै पक्षलाई समस्या समाधान गर्न निर्देशन दिएको एक साता बित्दासमेत नाडाको पदाधिकारी बैठक बस्न सकेको छैन । नाडालाई गुटबन्दीबाट मुक्त गर्न वरिष्ठ उपाध्यक्षको पद खडा गरेर वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई आगामी साधारण सभाबाट सर्वसम्मत अध्यक्ष निर्वाचित गर्ने सहमति भए पनि अध्यक्ष चौधरी उक्त सहमतिबाट पछाडि हटेकोले विवाद खडा भएको हो ।


भर्खरै गठन भएको नाइमामा नेतृत्व विवाद छैन । सबैमा नयाँ उत्साह भएको कारण पहिलो ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ भव्य रुपमा सम्पन्न भयो । स्रोतका अनुसार नाइमामा निर्वाचनभन्दा सहमतिबाटै नेतृत्व चयन गरिने सहमति त्यसका सदस्यहरू बिचमा भएको छ । नाडा विवादमा डुबिरहेको बेला त्यसले गर्ने भनिएको अटो शो पनि ओझेलमा पर्ने देखिन्छ ।


ग्राहकहरूको जुन सहभागिता नाइमा अटो शोमा देखियो, त्यो नाडा अटो शोमा देखिने सम्भावना पनि छैन । नाडाको मुख्य आयस्रोत अटो शो हो, त्यसबाट जम्मा भएको रकम समेत वर्षौदेखि व्यापक दुरुपयोग भएको आरोप छ । यस विषयमा पनि जिल्ला प्रशासन कार्यालयको ध्यान जानुपर्ने नाडाका सदस्यहरू बताउछन् ।


चुनाव जित्ने होडबाजीमा नाडामा नक्कली मतदाता खडा गरिएको अर्को आरोप छ । प्रत्येक मतदाताको बैधानिकता, करचुक्ता प्रमाणपत्र, व्यापार व्यवसाय दर्ता नवीकरण प्रमाणपत्र हेरेर मात्र नाडाको मापदण्ड बमोजिम सदस्यता प्रदान गरिनुपर्ने नाडाका सदस्यहरूको माग रहेको छ ।


वर्षौदेखि सिप्रदी, चौधरी र लक्ष्मी ग्रुपले हालिमुहाली गरिरहेको नाडाको साख जोगाउने हो भने त्यसभित्रका विसंगतिहरू हटाउनुपर्छ । यस विषयमा आगामी साधारणसभामा व्यापक मात्रामा कुरा उठ्ने नाडाका सदस्यहरूले बताएका छन् ।
नाडाका अधिकांश पदाधिकारीहरू नाइमामा पनि आवद्ध भएका कारण नाडाको नेतृत्व आफ्नो संस्थालाई बलियो बनाउनुपर्नेमा थप विवाद सिर्जना गरेर संस्था डुबाउने काममा लागेको छ ।


नाइमा एक्स्पोमा विभिन्न सवारीका ५० ब्रान्ड सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक नयाँ गाडी सार्वजनिक भयो । नाडाबाट फुटेर नाइमा बनेपछि उनीहरूप्रति उपभोक्ता मात्र हैन व्यवसायीको पनि आकर्षण बढेको छ । चौधरी ग्रुपको कम्पनी जस्तो बनेको नाडाप्रति पछिल्लो समय सबै रुष्ट बनेका छन् । यसले पनि नाइमा प्रति आकर्षण बढाएको हो ।

नाइमाले अवलोकनकर्तालाई सहजताका लागि प्रदशनीस्थललाई अपांगतामैत्री बनाएको थियो । नाइमाका अनुसार प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय अवलोकनकर्ता सहभागी भए । यस्तै चौथो दिन २१ हजार ५ सय र पाँचौं दिन २२ हजार जनाले अवलोकन गरे  ।


स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताको अपार माया र समर्थन प्राप्त पाउन नाइमा सफल भएको छ । उता नाडा भने लामो इतिहास बोकेको नाडा भने अध्यक्ष करण चौधरीको मनपरीका कारण कोल्याप्स हुने अवस्थामा छ ।


लामो समयदेखि अटोमोबाइल क्षेत्रको एकछत्र प्रभुत्व जमाउँदै आएको नाडा (अटोमोबाइल्स एसोसिएसन अफ नेपाल) यतिबेला इतिहासकै गम्भीर संकटमा पुगेको यस एक्स्पो हेर्दा पनि थाहा हुन्छ । अध्यक्ष चौधरीको अक्षमताको चपेटामा नाडा थप बिखण्डनको मोडमा पुगेको छ ।


रोचक त के छ भने, नाडाले पनि अटो शो घोषणा गरिसकेको छ । तर नाइमाको अटो शो सामू त्यो फिका छ । वर्षौँदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको नाडा अटो शोको ‘क्रम भंग’ हुने अवस्था आएको छ । आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना हुन लागेको नाडाको १६औं संस्करणको अटो शो ओझेलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्