काठमाडौं । सातको पहिलो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) २७.९० अङ्क घटेको छ । सो गिरावटपछि नेप्से २८२२ विन्दुमा पुगेको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि पछि ओरालो लागेको हो ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज १० अर्ब २१ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो । अधिकांश समूहका सूचक घटे । माइक्रोफाइनान्स र विकास बैङ्क समूह सबैभन्दा धेरै घटे । माइक्रोफाइनान्स २.३५ तथा विकास बैङ्क २.३१ प्रतिशत घटे ।
सोमबार बैङ्किङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशतले घटेको छ । अन्य समूह ०.३१ प्रतिशत बढ्यो ।
आज सबैभन्दा धेरैले बढ्नेमा रिभर फल्स पावर रहेको छ । जसको मूल्य १० प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ६।८७ तथा बुद्धभूमि हाइड्रोपावरको ३.४७ प्रतिशत मूल्य बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घट्यो । लिबर्टी इनर्जीको ७.०६, ट्रेड टावरको ६.९९, सीवाईसी लघुवित्तको ५.७४ तथा विन नेपाल लघुवित्तको ५.७२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा तथा बुटवल पावर क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।











