Logo
Logo

सामान्य प्रशासनमा बिचौलियाको सेटिङ सञ्जाल यथावत

मन्त्री न्यौपानेलाई बिचौलियाको घेरा तोड्ने चुनौती


1.7k
Shares

काठमाडौं । पोखराको बाटुलेचौरस्थित लिचीबारीको १ सय ३५ रोपनी जग्गा प्रकरणमा बिचौलियाको योजनाअनुसार काम नगर्दा ७८ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुपर्यो । गुप्ता मालपोत कार्यालय कास्कीका वर्तमान प्रमुख चिरन्जीवी पौडेललाई सरुवा गर्न र भूमि आयोगमा खेम पुनलाई नियुक्ति गर्न भूमि व्यवस्थामन्त्रीलाई सेटिङ गर्नका लागि बिचौलियाले गुप्तासँग घुस डिल गरेका थिए ।

बिचौलिया सुजन लामासँगमात्र होइन, सामान्य प्रशासन मन्त्रालयमा सरुवाको खुलेआम मोलतोल गर्दा गुप्ता बदनाम भएका थिए । गएको बर्ष भदौ अन्तिममा १ हजार २ सय ५० कर्मचारीको सरुवा गर्दा मन्त्री गुप्ताले प्रत्येकसँग दररेट तय गरेर असुली गरेको आरोप लागेको थियो ।

जनसम्पर्क हुने कार्यालयमा वर्षौदेखि कार्यरत कर्मचारीलाई त्यहीँ थमौती गरेबापत पनि मन्त्री गुप्ताका स्वकीयहरुले दररेट असुलेको समाचार पनि दृष्टिले बारम्बार उजागर गरेको थियो । मन्त्री गुप्ताको आदेशमा घुस लेनदेन गरेका उनका प्रमुख स्वकीय सचिव शिव पटेलले मधेश प्रदेशका पालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा रकम मागेको भाइबर म्यासेजदेखि अनेक प्रमाण सार्वजनिक भएका थिए ।

मन्त्री गुप्ताले मन्त्रालयमा सरुवामा असुलीको डिल गर्नका लागि छोरा सुभास गुप्ता, भाइ सन्तोष रौनियार गुप्ता र साला जितेन्द्र रौनियार गुप्तालाई परिचालन गरेका थिए । उनीहरुले दररेट अनुसार आर्थिक संकलन गरी सरुवाको सूची बनाएका थिए ।

पटेल र छोराहरुको बारेमा संचारमाध्यममा समाचार आउन थालेपछि गुप्ताले पछिल्ला दिनमा प्रमोद खड्का नामका बिचौलियामार्फत् आर्थिक कारोबार मिलाउने र सरुवा गर्ने गरेका थिए । प्रमोद खड्काले काठमाडौं उपत्यका र अन्य सहरका मालपोत कार्यालयका कर्मचारी गुप्ताका छोरा सुभाषसँग सेटिङ गरी सरुवा गराउँथे । र, खरिदार, नासु र अधिकृतको दररेट असुली सामान्य प्रशासनबाट सोझै कार्यालय तोकेर सरुवा गराएर करोडौं असुली गरेका समाचार दृष्टिले नै सार्वजनिक गरेको थियो ।

मन्त्री गुप्ता र उनको बिचौलिया टोलीका नाइके प्रमोद खड्काले कर्मचारी प्रशासन शाखाका अधिकृतदेखि महाशाखाका प्रमुख सहसचिवसम्मलाई पनि सरुवा सेटिङको हिस्सा बुझाएर काम गर्दैआएका थिए । संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख उपसचिव कमल भट्टराई र शाखा अधिकृत भविन्द्र कार्की तथा स्थानीय तह कर्मचारी प्रशासन शाखाका प्रमुख उपसचिव भीमकान्त पौडेलसँग सेटिङ मिलाई मालपोतदेखि जनसम्पर्क हुने कार्यालयमा कर्मचारी सरुवा गराउँदैआएका थिए ।

उपसचिव पौडेल त २ बर्ष ललितपुर मालपोत कार्यालयमा मालपोत अधिकृतका रुपमा काम गरेकाले प्रमोद खड्का नामक बिचौलियाको उनीसँग लामो समयदेखि सेटिङ हुने गरेको छ । सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पिताम्बर घिमिरेसँग पनि बिचौलिया खड्काको भूमिव्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक हुँदैदेखि रहँदै आएको छ ।

घिमिरे भूमि व्यवस्थापन विभागमा डीजी हुुँदा खड्काले मालपोतका धेरै कर्मचारीको सरुवा दामकाम मिलाएर गरेकाले त्यही सम्बन्धका आधारमा अहिले पनि काम गराउँदैआएका छन् । घिमिरे सहकारी विभागको रजिष्टार हुँदै प्रमोद खड्काकै सिफारिसमा गुप्तालाई मिलाएर कर्मचारी सरुवामा कमाउधन्दा संचालन गर्नका लागि सामान्य प्रशासनमा ल्याइएका थिए ।

लिलाम बढाबढ र नीति नियम र मापदण्ड बिपरीत कर्मचारी सरुवा गरेका गुप्ताको बहिर्गमन भए पनि उनको गिरोह अहिले पनि मन्त्रालयमा छँदैछ । सरुवामा रकम उठाउनेमध्येका उपसचिव कमल भट्टराई रोजेरै टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भइसकेका छन् ।

प्रमोद खड्काको सेटिङमा चल्ने अर्का उपसचिव भीमकान्त पौडेल अहिले पनि स्थानीय तह कर्मचारी प्रशासन शाखाको प्रमुखमै छन् । यो समूहकै अधिकृत भविन्द्र कार्की पनि चलाइएका छैनन् । गुप्ताको यो संजाल भत्काउन नवनियुक्त मन्त्री भगवती न्यौपानेलनाई चुनौतीपूर्ण नै छ । तर यो सञ्जाल कायम राख्दा उनी पनि गुप्ताकै जस्तो विवादमा पर्ने खतरा छ ।

यो समूहले प्रशासकीय अधिकृत र आकर्षक कार्यालयका कर्मचारी सरुवामा मात्रै होइन, मन्त्रालयकै महाशाखा र शाखा परिवर्तनमा पनि लेनदेन गर्ने गरेको समाचार दृष्टिमा आएको थियो ।

प्रमोद खड्काको सेटिङमा चल्ने अर्का उपसचिव भीमकान्त पौडेल अहिले पनि स्थानीय तह कर्मचारी प्रशासन शाखाको प्रमुखमै छन् । यो समूहकै अधिकृत भविन्द्र कार्की पनि चलाइएका छैनन् । गुप्ताको यो संजाल भत्काउन नवनियुक्त मन्त्री भगवती न्यौपानेलनाई चुनौतीपूर्ण नै छ । तर यो सञ्जाल कायम राख्दा उनी पनि गुप्ताकै जस्तो विवादमा पर्ने खतरा छ ।

मन्त्री गुप्ताका छोरा सुभाषसहितको तीन सदस्यीय समूहले प्रमुख प्रशासकीय अधिकृतको लागि ५ लाखदेखि २० लाखसम्म लेनदेन गर्दै खटाउने गरेको आरोप लागेको थियो । मन्त्री गुप्ताको सचिवालयमा उनीहरुको नाम नभए पनि मन्त्रालयबाट हुने सरुवाको सूची बनाउने काम उनीहरुले नै गर्दैआएका थिए ।

को हुन् प्रमोद खड्का ?
उदयपुर घर भएका प्रमोद खड्का विगत लामो समयदेखि कर्मचारी सरुवामा रकम उठाउने बदनाम बिचौलिया हुन् भनिन्छ । उनको बास नै सामान्य वा भूमिव्यवस्था मन्त्रालयका कर्मचारीका घर वा होटलहरुमा हुने गरेको छ । २०७० सम्म राप्रपाको कार्यक्रममा देखिने र सामान्य डेराभाडा समेत तिर्न नसक्ने हैसियतका र पेशा केही नभएका खड्का १ करोडको स्कोरपियो चढ्छन् भने करोडौंको सम्पत्ति जग्गा जमिन उनले जोडिसकेका छन् । खुमलटारमा उनको भब्य बंगलासमेत छ ।

उनको पेशा नै कर्मचारी सरुवामा पैसा उठाउने बिचौलिया हो । मालपोतका कर्मचारी त उनलाई नै मन्त्रीका रुपमा लिने गर्दछन् । सामान्य प्रशासन मन्त्रीका रुपमा गुप्ता आएपछि उनले त्यो मन्त्रालयका कर्मचारी प्रशासन शाखादेखि महाशाखासम्मका कर्मचारीका निकट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्