काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)द्वारा पहिलोपटक आयोजनामा गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’मा १ लाख बढीले अवलोकन गरेका छन् । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एस्क्पो सोमबार सम्पन्न भएको छ ।

६ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । उनले एक्स्पोमा १ लाख अवलोकनकर्ताले अवलोकन गरेको बताइन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उल्लेख्य रूपमा अवलोकनकर्ताको सहभागिता जनाएका हुन् । त्यस्तै एक्स्पोमा कम्पनीहरूले गाडी खरिदमा अफरै–अफर दिएपछि बुकिङ पनि राम्रो भएको कम्पनीहरूले जनाएका छन् ।

गत बुधबारदेखि सुरु भएको शो अवलोकनकर्ताको भीड बढेसँगै १ दिन थपेर सोमबार समापन गरिएको हो । अध्यक्ष वैद्यका अनुसार पहिलो मोबिलिटी एक्स्पो अवधिभर २ हजार ५ सयभन्दा बढी गाडी बुकिङ भएको छ ।
‘यसपटकको पहिलो एक्स्पो भव्य रुपमा सम्पन्न भयो’ वैद्यले भनिन्, ‘एक्स्पोमा १ लाखले अवलोकनकर्ता आउनुभयो । सो क्रममा करिब २५ सय गाडी बुकिङ भएको छ ।’
पहिलोपटक आयोजित एक्स्पो गाडी बेच्न मात्र नभई उपभोक्तासँग अन्तक्र्रिया भएको बताउँदै उनले अर्को वर्ष आयोजना हुने दोस्रो संस्करणको एक्स्पो अझै भव्य हुने बताइन् ।
एक्स्पोमा चर्चित चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी बीवाईडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, काई, किया, लिप मोटर्स, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुवी, निसान, ओमडा र जेको, प्युज्योट, प्रोटन, रेनल्ट, टोयटा, फक्सवागन र जिकर सहभागी भएका थिए ।
बीवाइडी लगायतका कम्पनीले नयाँ मोडलका कारहरु प्रदर्शनमा राखेका थिए । जसमा बीवाइडीको एट्टो–१ र सिलायन–७ ले चर्चा पाएको थियो । बीवाइडी कार बुकिङ गर्ने र हेर्नेको घुइँचो लागेको छ । बीवाइडीको एट्टो १ सबैभन्दा बढी बुकिङ भएको विद्युतीय गाडी दरिएको छ । बीवाइडी वितरक साइमेक्स इन्कका अनुुसार एक्स्पो अवधिभर एट्टो १ मात्र करिब चार सय वटा बुकिङ भएको छ भने सिलायन–६ पनि ग्राहकले रुचाए । यी दुवै बीवाइडीका मोडल हालै मात्र साइमेक्सले भित्राएको हो ।
एक्सपोमा दुईपांग्रेमा एम्पेयर, एथर, बजाज, बेनली, सिएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोल्ट, सुजुकी, ट्राइम्प, टिभिएस, अल्ट्रा भाइलट, याडिया र जिहोले सहभागिता जनाएका थिए ।











