
हामीले बारम्बार दोहो¥याउने एउटा वाक्य छ- ‘युवा देशको भविष्य हुन् ।’ तर, जब हरेक पटक युवालाई भविष्यको प्रतीकका रूपमा मात्र चित्रण गरिन्छ, तब प्रश्न उब्जन्छ- देशको वर्तमान चाहिँ को हो ? बालबालिका ? कि बुढापाका ?
युवा केवल भविष्यको आशा होइनन्, वर्तमानका मेरुदण्ड हुन् । उनीहरूको ऊर्जा, सृजनशीलता, विद्रोही चेत र निरन्तर संघर्ष गर्ने सामर्थ्य अहिलेको सामाजिक, आर्थिक र राजनीतिक संरचना उल्ट्याउने शक्ति हो ।
युवा केवल भविष्यको तयारी गर्ने पात्र होइनन्, उनीहरू नै आजको समाजको रूपरेखा कोर्ने, दिशानिर्देश तय गर्ने र समयलाई आकार दिने शक्ति हुन् । तर, विडम्बना के छ भने हामीले देशको स्टियरिङ पुरानो पुस्ताको हातमा सुम्पेर, युवालाई विदेशको हावामा उडाइदिइरहेका छौँ ।
युवा भनेको पढाइ सकेपछि ठूलो जहाज चढ्ने उमेर समूह होइन, उनीहरू देश निर्माता हुन् । तर, हामी उनीहरूलाई यही भूमिमा अवसर दिन चुकिरहेका छौँ । विदेश पलायन गर्न बाध्य पारिरहेका छौँ । राष्ट्रलाई बालश्रम र वृद्धाश्रमको स्वरूपतर्फ धकेलिरहेका छौँ ।
नेपालको जनसंख्याको करिब ४० प्रतिशत हिस्सा युवा छन् । यो केवल आँकडा मात्र होइन, यो सम्भावनाको महासागर हो । तर, यो महासागरको जल अहिले प्रवाहित हुन पाएको छैन । बेरोजगारी, गुणस्तरीय शिक्षाको कमी र अवसरको अभावले यो ऊर्जा छरपस्ट छ ।
नेपालजस्तो विकासशील राष्ट्रमा युवाको ऊर्जा केवल विकासको साधन मात्र होइन, अस्तित्वको आधार हो । आजै अवसर, शिक्षा र प्रेरणा प्रदान गर्न सके युवाले केवल भविष्य निर्माण गर्ने होइन, वर्तमानलाई पनि समृद्धिको सोपानमा उचाल्नेछन् । युवालाई सशक्त बनाउनु भनेको भविष्यको सपना देख्नु मात्र होइन । यो वर्तमानको ढुंगा मजबुत राख्नु हो, जसमा भोलिको महल आफैं टिक्नेछ ।
युवासँग जोश छ, जाँगर छ, शक्ति छ, प्रतिबद्धता छ र परिवर्तन ल्याउने अदम्य हुटहुटी छ । युवाअवस्थामा जे पनि सम्भव छ भन्ने साहस र आत्मविश्वास असीम हुन्छ । तर, युवाको जोश, जाँगर र शक्तिलाई हामीले प्रयोग गर्न सकिरहेको छैनौँ ।
हरेक १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिन विश्वभर युवाको शारीरिक, मानसिक र बौद्धिक उत्थानबारे चेतना जगाउने, अवसर र चुनौतीको बहस गर्ने, नयाँ मुद्दा उठाउने क्रम चलिरहेछ । शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यम, लगानी सबै विषयमा छलफल हुन्छन् । तर, विडम्बना के छ भने युवाको वास्तविक पीडा अझै उस्तै छ ।
अन्य देशका युवाको तुलनामा नेपालको अवस्था अझ दयनीय छ । तर, समस्या पहिचान र समाधानका पहल न्यूनतम छन्, लगानी अझै न्यून छ । अवसरको खोजीमा वर्षेनी लाखौं युवा विदेशिन्छन् । युवा पलायनको वेग कम हुने कुनै संकेत छैन । यहाँ बस्नेहरू पनि भविष्यप्रति संशयग्रस्त छन् । यो केवल व्यक्तिगत यात्राको कथा होइन, राष्ट्रको वर्तमान र भविष्य दुवैको रक्तस्राव हो ।
दैनिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पलायन हुने हजारौं युवाको पीडा बुझ्न ठूलो अनुसन्धान चाहिँदैन । गाउँ, घरपरिवार र देश छाड्नु रहर होइन, बाध्यता हो । देशमा रोजगारी छैन । हातमुख जोड्न मुस्किल छ । अनि देशलाई युवा चाहिन्छ भनेर डुकुलन्ठ्याङ बस्ने ?
केही युवाले देशमै अवसर पाएका छन्, केहीले अवसर सिर्जना गरेका छन् । तर, ९५ प्रतिशत युवा आधारभूत अवसरबाट वञ्चित छन् । करिब ८० लाख युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन् । तर, उनीहरूको वर्तमान र भविष्यबारे गम्भीर चासो कसैलाई छैन ।
हुन त हामीसँग बेच्ने अरू के नै छ र, युवाशक्ति बाहेक ? देशको अर्थतन्त्र युवाको पसिना, आँसु र आहुतिमै टेको टेकेको छ । रेमिट्यान्सले धानेको यो अर्थतन्त्र वास्तवमा आफ्नै भविष्य गिरवी राखेर आजको भोक टार्ने क्रियामात्र हो । रेमिट्यान्समा रमाउने सत्ताधारीले बाकसमा फर्किने युवाको शवसँगै फर्किने परिवारको पीडा किन महसुस गर्दैनन् ?
रोजगारीको कुरा त टाढै भयो, राज्यले गुणस्तरीय शिक्षा पनि दिन सकेको छैन । विश्वविद्यालय र कलेजहरू खाली हुँदै छन्, किनकि प्रमाणपत्र हात पार्नेबित्तिकै विद्यार्थी विदेशिने तयारीमा लाग्छन् । बाबुआमाको सम्पत्ति, ऋणको भारी र विदेशिने लक्ष्य, यही त्रिकोणमा उनीहरूको सपना बन्धक बनेको छ ।
आर्थिक हैसियतअनुसार गन्तव्य फरक पर्छ । सक्षमहरू युरोप, अमेरिका, क्यानडा पुग्छन् । मध्यम वर्ग जापान–कोरिया पुग्छन् । गरिब वर्ग ब्याजको पासोमा फसेर खाडी मुलुकको तातो मरुभूमिमा पसिना बेच्न पुग्छन् । जुन समयमा देशलाई योगदान गर्न सक्थे, त्यो समय विदेशी भूमिमा बिताउँछन् ।
समृद्धिको पहिलो शर्त हो रोजगारी । तर, यहाँ रोजगारीको संकट दिन प्रतिदिन गहिरिँदै छ । हरेक वर्ष झण्डै पाँच लाख नयाँ हात श्रम बजारमा थपिन्छन्, तर तीमध्ये ठूलो हिस्सा बेरोजगारीको अँध्यारो खाडलमै फालिन्छ । विदेश युवाका लागि रोजगारीको विकल्प मात्र होइन, बाध्यता र रहर दुवैको तिक्त मिश्रण बनेको छ ।
राजनीतिप्रति युवाको आस्था हराइसकेको छ । मुलुक निर्माणको सपनाप्रति उनीहरू निराश छन् । देश चलाउने शासक र प्रशासकका आफ्नै सन्तान समेत विदेशमै छन् । किनभने उनीहरूलाई पनि थाहा छ, यहाँ बस्नु भनेको आफ्नो भविष्य उजाड बनाउनु हो ।
विदेशी रोजगारी कुनै स्थायी समाधान होइन । स्थायी समाधान स्वदेशमै छ । आफ्नै माटोमा सम्भावनाको बीउ रोपेर, पसिना बगाएर फलाउनेतर्फ लाग्नुपर्छ । रेमिट्यान्स आएकोमा मात्र आत्मसन्तोष मान्नु घातक भूल हो । देशबाट कति पूँजी बाहिरिँदै छ, त्यसको हिसाब राख्न सक्नुपर्छ ।
नेपालमै केही सिर्जना गर्ने संकल्प बोकेका युवाको संख्या अत्यन्त न्यून छ । जोसुकैले व्यवसाय सुरु गर्न खोज्दा ‘झोले’ र ‘टोले’को चक्रव्यूहले पसिना सुकाइदिन्छ । त्यसैले लगानीमैत्री वातावरण राज्यले निर्माण गर्नैपर्छ । देशमै रोजगारीका अवसर सिर्जना गरेर युवालाई सम्भावनाको आकाश देखाउन तत्काल कदम चाल्नुपर्छ ।
देशको रुपान्तरणको केन्द्रीय शक्ति युवा नै हुन् । विकास र समृद्धिको मेरुदण्ड यही पुस्ता हो । तर, हरेक दिन पलायनको बाटो रोजिरहेका तिनै युवालाई रोकेर मात्र मुलुक बन्न सक्छ । यसका लागि शासक, प्रशासक, राजनीतिक दल मात्र होइन, सम्पूर्ण नागरिक गम्भीर भएर उठ्नुपर्छ ।
युवा भविष्यको प्रतीक्षामा बस्ने यात्रु होइनन् । उनीहरू आजको परिवर्तनका चालक हुन् । तसर्थ, नीति निर्माणदेखि नेतृत्व, उद्यम, अनुसन्धान र हरेक निर्णायक प्रक्रियामा उनीहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नु नै मुलुकको अस्तित्वको शर्त हो । अन्यथा, भविष्य भन्ने नाममा हामी वर्तमानलाई चकनाचुर पार्ने परम्परालाई निरन्तरता दिन बाध्य हुनेछौँ ।
युवा देशकै बनाऊँ, विदेशको होइन । अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ।











