काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्से घटेसँगै २८०० विन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक पछिल्लो १७ कारोबार दिनपछि २८०० विन्दुभन्दा तल झरेको हो ।

मङ्गलवार नेप्से परिसूचक २६.२२ अङ्क घटेर २७९६.२४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.८४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अङ्क घटेको छ ।
नेप्सेसँगै मङ्गलवार कारोबार रकम पनि घटेको छ । सोमबार १० अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३२३ स्टकको ७८ हजार २२६ पटकको कारोबारमा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेप्से घटेपनि मङ्गलवार सिटि होटलको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ८० प्रतिशत हकप्रद सेयर समायोजनपश्चात कारोबारमा आएको सो होटलको सेयरमूल्य ५७ रुपैयाँ ७८ पैसा बढेर ६३६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।
मङ्गलवार सिक्लेस हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ११४ रुपैयाँ ५५ पैसा घटेर १ हजार ३२ रुपैयाँ ५१ पैसामा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको करिब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने लुम्बिनी विकास बैङ्कको कारोबार रकम २० करोड नाघेको छ ।
१३ उपसमूहमध्ये मङ्गलवार एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३२ प्रतिशत बढेको हो । कारोबारमा आएको वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।











