Logo
Logo

भारतमा दुर्लभ घटना : कलेजोमा भ्रूण फेला


1.4k
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको दस्तूरा गाउँमा एक अत्यन्त दुर्लभ र आश्चर्यजनक चिकित्सकीय घटना बाहिर आएको छ । त्यहाँ बस्ने ३५ वर्षीया सर्वेशको कलेजोमा भ्रूण विकसित भएको पाइएपछि चिकित्सक र अनुसन्धानकर्ताहरूको ध्यानाकर्षण भएको छ । 

यो अवस्थालाई ‘इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ, जुन विश्वमै निकै दुर्लभ मानिन्छ । सर्वेशलाई विगत तीन महिनादेखि अत्यधिक वान्ता, थकान र पेटको दायाँ भागमा दुखाइको समस्या थियो ।

सुरुमा चिकित्सकहरूले पेटमा सङ्क्रमण भएको ठानेर औषधि दिए, तर अवस्थामा सुधार आएन । दोस्रो अल्ट्रासाउन्डमा चिकित्सकहरूले उनको कलेजोमा १२ हप्ताको भ्रूण भएको पत्ता लगाए । सर्वेश र उनको परिवारले यो कुरा पत्याउन गाह्रो माने, किनभने उनको महिनावारी सामान्य थियो र चिकित्सकहरूको प्रारम्भिक जाँचमा पनि उनको अवस्था सामान्य देखिएको थियो ।

चिकित्सकहरूले, भ्रूणको अवस्था नाजुक रहेको र यदि यो बढ्दै गएमा कलेजो फुट्ने जोखिम रहेको, जसले आमा र भ्रूण दुवैको ज्यानलाई खतरा हुन सक्ने बताएका थिए ।

चिकित्सकहरूले शल्यक्रिया गर्नुको विकल्प नभएको बताए । उनीहरूले सर्वेशलाई दिल्लीको अस्पतालमा जान सुझाए, तर आर्थिक स्थिति कमजोर भएकाले उनले मेरठको एक निजी अस्पतालमा शल्यक्रिया गराउने निर्णय गरिन् । 

डा.पारुल दहिया र डा. सुनिल कंवलको टोलीले डेढ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरे । हाल सर्वेशको स्वास्थ्य अवस्था सामान्य छ । इन्ट्राहेप्याटिक एक्टोपिक प्रेग्नेन्सी विश्वमा ७०-८० लाख गर्भावस्थामा एकपटक हुने अत्यन्त दुर्लभ अवस्था हो । विश्वभर यस्ता ४५ घटना मात्र रेकर्ड भएका छन्, जसमध्ये भारतमा यो चौथो हो ।
 

प्रतिक्रिया दिनुहोस्