
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि लुम्बिनी प्रदेशमा तीन दिने प्रशिक्षण कार्यक्रम गर्दैछ । उपनिर्वाचनको तयारीमा रहेको
रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले भैरहवामा साउन २९, ३० र ३१ गते गर्ने प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।
पार्टीको सबलीकरण, रुपन्देही ३ को उपनिर्वाचन, सदस्य वृद्धिलगायत विषयमा पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलगायतले प्रशिक्षण दिने छन् ।
उक्त प्रशिक्षणमा पार्टी प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, प्रदेश विभागका सदस्यलगायतको सहभागिता रहने रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले जानकारी दिए ।
२९ गते सबै जिल्लाको सभापतिहरुको बन्द शिविर हुनेछ भने ३० र ३१ गते प्रदेशका सबै जिल्लाका पालिका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यहरुबीच प्रशिक्षण हुने छ ।
रुपन्देही ३ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर रास्वपाले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।














