Logo
Logo

रविलक्षित ओलीको कटाक्षः विदेशी नागरिकता लिएरकाले ‘इमोसनल ब्ल्याकमेलिङ’ गरिरहेका छन्


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध भएको आरोप लगाएकोतर्फ इंगित गर्दै उनले भनेका छन्, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सरकारले भनेजसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका सरकारले नै भनेर हो त ?’

भिडद्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘यसरी एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारबाही नै हो ? अर्बौं रकम अपचलन गरेर थुनामा रहेका सयौं व्यक्तिमाथि प्रतिशोध भएको हो ? कुन कुन मान्छेमाथि प्रतिशोध भएको हो ?, भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्नेछ । यस्ताका पछि लागेर कुद्ने भिड अचम्मको मात्रै होइन दया लाग्ने खालको छ ।’

सहकारीमा भएको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको बताउँदै उनले कसैलाई राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजेको आरोप प्रधानमन्त्री ओलीले लगाए ।

‘सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा चलिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहेका दर्जनौं व्यक्तिलाई अदालतले थुनामा पठाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अदालतले थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ ।’

लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर आरोप लगाएको बारे टिप्पणी गरे । उनले भने, ‘आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैनन् । देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ, के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो ? पोजिसनका हिसावले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि !’

प्रधानमन्त्री ओलीले लामिछानेलाई संकेत गर्दै भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको बताए । उनले भने, ‘कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुई दुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्। यसका पछाडी मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ।’

प्रतिक्रिया दिनुहोस्