काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहे पनि बिस्तारै दक्षिणतिर सर्ने देखिएको छ । यसका कारण नेपालमा मनसुनको प्रभाव क्रमशः कमजोर हुँदै जाने सम्भावना छ । यद्यपि, बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव अझै कायम रहेको महाशाखाले जनाएको छ ।

आज बिहान सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा, साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको छ ।
दिउँसो पनि सुदूरपश्चिम प्रदेश र पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कोशी प्रदेशसहित पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा, साथै अन्य पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
सतर्कता अपनाउन अनुरोध
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।














