
काठमाडौं । जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २२ जिल्लामा आकस्मिक बाढी आउने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै देशका विभिन्न २२ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन भनेको हो ।
महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ ।
त्यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम–पश्चिम, कालिकोट, बाजुरा, बाझाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाढी महाशाखाले उल्लिखित २२ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै बाढीको जोखिम देखिएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।
















