काठमाडौं । मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव उत्पन्न भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउन डोजर चलाउँदा स्थानीय बासिन्दाले ढुंगामुढा प्रहार गरेका छन्, जसका कारण केही नगर प्रहरी घाइते भएका छन् ।

घटनास्थलमा खटिएका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले सरकारी जग्गामा बनाइएका अवैध संरचना हटाउने प्रयासमा झडप भएको बताए । बस्ती हटाउनुअघि पटक–पटक सूचना जारी गरिएको थियो, तर अटेर गरेपछि डोजर चलाइएको हो ।
महानगरपालिकाले हालसम्म २० देखि २५ वटा घर र टहरा भत्काइसकेको छ । स्थिति तनावग्रस्त रहेकोले थप सुरक्षाकर्मी परिचालन गरिएको छ।














