
काठमाडौं । वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैङ्कको ब्याजदर सूचीअनुसार साउनको तुलनामा भदौमा औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ ।
साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौमा ५.५७ प्रतिशत कायम भएको छ । आठ बैङ्क-कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआईले ब्याजदर घटाएका छन् ।
प्रभु बैङ्कले भने ब्याजदर ४.२५ बाट ५.३५ प्रतिशतमा बढाएको छ । बाँकी ११ बैङ्क–सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैङ्कले ब्याजदर स्थिर राखेका छन् । बैङ्कहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि बढी ब्याजदर दिने गरेका छन् ।
ब्याजदर घट्दा बचत र कर्जाको ब्याजदर पनि स्वतः घट्छ । नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिमार्फत नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६प्रतिशत र स्थायी निक्षेप सङ्कलन दर २.७५ प्रतिशत कायम छ । असारको पुँजीगत खर्चले निक्षेप बढे पनि कर्जा प्रवाह सुस्त रहेकाले बैङ्कहरूले ब्याजदर घटाएका हुन्।
व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर (प्रतिशत)
| बैंक | साउनको ब्याजदर | भदौको ब्याजदर |
| कृषि विकास | ५.४ | ५.२ |
| एभरेस्ट | ६.२५ | ५.७५ |
| नेपाल | ५.४ | ५.४ |
| लक्ष्मी सनराइज | ५.५ | ५ |
| माछापुच्छ्रे | ६ | ६ |
| एनआईसी एसिया | ६.२५ | ६.२५ |
| प्रभु | ४.२५ | ५.३५ |
| स्टान्डर्ड चार्टड | ६.२६ | ५.१३ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५.५ |
| नबिल | ५.५ | ५.५ |
| ग्लोबल आईएमई | ६ | ६ |
| सिद्धार्थ | ५.७५ | ५.५ |
| प्राइम कमर्सियल | ६ | ६ |
| कुमारी | ५.४१ | ५.२१ |
| सानिमा | ६.१८ | ५.७५ |
| हिमालयन | ६ | ६ |
| नेपाल एसबीआई | ५.३५ | ५.२५ |
| इन्भेस्टमेन्ट मेगा | ५.२५ | ५.२५ |
| एनएमबी | ६ | ६ |
| सिटिजन्स | ५.५ | ५.५ |











