Logo
Logo

सञ्जीवको संयोजत्वमा एकीकृत समाजवादीको युवा संघमा समानान्तर कमिटी गठन


1.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीसम्वद्ध युवा संघको समानान्तर कमिटी गठन भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधवकुमार नेपाल पक्षको नवौं महाधिवेशन आयोजक कमिटीका पदाधिकारी र सदस्यलाई शपथ गराएकै दिन आइतबार झलनाथ खनाल पक्षका युवाले समानान्तर कमिटी घोषणा गरेका हुन् ।

नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै खनाल पक्षले आज सञ्जीव राईको नेतृत्वमा समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको हो । पार्टी र संगठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएपछि समानान्तर कमिटी गठन गर्न बाध्य भएको उक्त पक्षकी नेतृ रेखा लोप्चनले बताइन् । काठमाडौंमा आइतबार आयोजित एक भेलाबाट समानान्तर कमिटी गठन भएको हो ।

यही १७ साउनमा घोषणा गरिएको नेपालपक्षीय रोशन थापा नेतृत्वको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खनाल पक्षका युवा नेताले अस्वीकार गर्दै आएका थिए । राईको नाम उक्त कमिटीको सहसंयोजकको रुपमा दोस्रो नम्बरमा उल्लेख थियो । उनले तत्कालै सामाजिक सञ्जालबाट उक्त जिम्मेवारी अस्वीकार गरेका थिए ।

राई संयोजकत्वको उक्त कमिटीमा झलनाथका छोरा निर्भिक खनाल चित्रकारसहित काभ्रेका भेषकुमार शाह, कालिकोटका अनिल बोगटी, गोरखाकी रेखा तामाङ लोप्चन, इलामका कुनाल राई, कैलालीका बाबुराजा श्रेष्ठ, जुम्लाका मनोज खत्रीसहित छन् ।

युवा संघको यो कमिटीको पक्षमा पार्टी पोलिटव्युरो सदस्य तथा संघका पूर्वअध्यक्ष नरेश शाही, पार्टी केन्द्रीय सदस्य सुशील भट्टराई, बाँके जिल्लाका पार्टी अध्यक्ष दीपक जिएमले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्