
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी विवरण पठाएको छ । प्राधिकरण र उद्योगी व्यवसायीहरूबिच डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादमा आयोगले पत्र पठाएर छानबिनका लागि विवरण मागेपछि प्राधिकरणले सम्पूर्ण निर्णयहरुको विवरण आयोगलाई पठाएको हो ।
आयोगले माग गरेअनुसारको कागजातसहितको विवरण पठाइसकिएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । आयोगले विद्युत् महसुल विवादका विषयमा अहिलेसम्म भएका सम्पूर्ण निर्णय तथा पत्राचारसँग सम्बन्धित सबै कागजात १५ दिनभित्र पठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो ।
प्राधिकरणलाई अख्तियारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरी विद्युत् महसुल बक्यौताका विषयमा परेको उजुरीका सम्बन्धमा छानबिनको लागि प्राधिकरणको सञ्चालक समितिको २०८२–१–२१ को बैठकको उपस्थितिसहित निर्णयको प्रति तथा डेडिकेटेड फिडर तथा ट्रकलाइनको सम्बन्धमा प्रशासकीय पुनरावलोकन समितिले गरेका काम कारबाही तथा सोसँग सम्बन्धित निर्णयका प्रमाणित प्रति १५ दिनभित्र उपलब्ध गराउन भनेकाे थियो ।














