एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेट हुनुभन्दा अगाडि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ ।

खार्किभका मेयर इहोर तेरेखोभले एक अपार्टमेन्ट ब्लकमा रुसले गरेको ड्रोन आक्रमणमा एक बच्चासहित कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन् । उनले भनेका छन्, ‘भवनको एक भाग भत्किएको छ र धेरै मानिस भग्नावशेषमा फसेको आशंका छ।’
उता जापोरिजिया क्षेत्रमा पनि रुसले हानेको ग्लाइड बमले लागेर १ जनाको मृत्यु र ६ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
रुसले रातभर युक्रेनमा चारवटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको युक्रेनी वायुसेनाले बताएको छ । वायुसेनाले रुसले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ।











