काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्री परिवर्तनसँगै आकर्षक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको फेरबदलको चर्चा सुरु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेका जिल्लाबासी र सधैं स्थानीय तहमा रजगज गर्दै आएका हरिराम नागिला संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन शाखामा जानका लागि निकै जोडबलका साथ लागेका छन् ।
संघीय तथा प्रादेशिक कर्मचारी शाखामा उपसचिव लेखनाथ न्यौपानेले कब्जा जमाइसकेका छन् । स्थानीय तह कर्मचारी प्रशासन शाखा प्रमुख हुनका लागि उपसचिव नागिला सबै शक्ति भिडाइरहेका छन् । मन्त्री न्यौपानेले पदभार सम्हालेलगत्तै केही प्रमुख प्रशासकीय अधिकृतहरुको फेरबदल भएको थियो । जसमा नागिला कागेश्वरी मनोहरा नगरपालिकाबाट सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकामा सरुवा भएका थिए ।
स्रोतका अनुसार नागिला भने बाह्रबीसेमा हाजिर नै नगरी सरुवा संशोधन गरेर उनी संघीय मामिला मन्त्रालयको अतिरिक्तमा हाजिर गर्दैआएका छन् । मन्त्री न्यौपानेकै जोडबलमा सरुवा संशोधन गराएको भन्दै मन्त्रालयमा फिर्ता भएका नागिला प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्ने शाखाको नेतृत्व लिन तारतम्य मिलाइरहेका छन् ।
कागेश्वरी मनोहराबाट ५ महिनामै सरुवामा परेका नागिलाको र मेयर उपेन्द्र कार्कीबीच गम्भीर मतभेद भएपछि उनी सरुवा भएका थिए । कांग्रेसनिकट भएकैले शाखा अधिकृतदेखि नै सधैं आकर्षक स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत हुँदैआएका नागिला राष्ट्रपति रामचन्द्र पौडेल, तनहुँका सांसद शंकर भण्डारी र स्वास्थ्य मन्त्री प्रदीप पौडेलको नाम भजाएर लाभ लिँदै आएका छन् ।
हरेक पालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा कुस्त कमाएर निजामती प्रशासनमा कुवेरको उपाधि पाएका नागिला कागेश्वरी मनोहरामा रहँदा समेत छोटो समयमा धेरै कमाउनतिर लागेपछि मेयर कार्कीसँग उनको टसल परेको थियो ।
नगरपालिकाबाट संचालित नगर अस्पताल मातहत आँखा केन्द्र स्थापनाका लागि उपकरण र स्वास्थ्य सामग्री खरिदमा नागिलाले दसौं लाख घोटाला गरेको सूचना मेयरले पाएपछि उनी सरुवामा परेका हुन् । आँखा केन्द्र स्थापना गर्दा २० लाख मूल्य पर्ने उपकरणलाई ६० लाखमा विनाप्रतिस्पर्धा खरिद गरी घोटाला गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी पुगेको छ ।
नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेल र स्टोरकिपर लक्ष्मीप्रसाद देवकोटासँग मिलेर नागिलाले खरिदमा ब्रम्हलुट गरेका थिए । पौडेल काठमाडौं महानगरपालिकाका कर्मचारी हुन् । उनले महानगरमा बितण्डा मच्चाएपछि मेयर बालेन साहले उनलाई कारबाही गर्ने भएपछि कागेश्वरीबाट सहमति ल्याएर बाहिरिएका हुन् । पौडेल पनि तनहुँकै हुन् ।
उनी महानगरमा हुँदा भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि पटक–पटक निलम्बनमा परेका थिए । हरेक भुक्तानीमा सेटिङ गर्ने र कमिसन लिने मामिलामा अनुभवी रहेका नागिलालाई मन्त्री न्यौपानेले कर्मचारी प्रशासन शाखाको जिम्मा दिने हो भने सरुवामा लिलाम बढाबढ गरी मन्त्रालय नै बदनाम हुने निश्चित जस्तै भएको कर्मचारी स्रोत बताउँछ ।
हरिराम नागिला तनहुँको म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, स्याङ्जाको पुतलीबजार र भीरकोट नगरपालिका, पाल्पाको तानसेन नगरपालिका र पछिल्लो समय काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका थिए ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्टेसनरीदेखि सम्पूर्ण सामान खरिद, योजनामा कमिसन र नक्सापासदेखि पाइलैपिच्छे पाईपाई कमिसन लिन पछि नपरेका उनी बाह्रबीसेमा सरुवा भए पनि सरुवा संशोधन गराएर अब मन्त्रालयकै सरुवामा हुने आर्थिक चलखेलमा आँखा लगाउन पुगेका छन् । बिचौलिया प्रमोद खड्काहरु पनि नागिलालाई कर्मचारी प्रशासनमा ल्याएर मन्त्रालयमा गुप्ताका पालामा चलाउँदैआएको सरुवा खेतीलाई निरन्तरता दिने दाउमा छन् ।











