काठमाडौं । मधेशका ८ जिल्ला भारतसँग सीमा नाका जोडिएका छन् । नेपालको जनसंख्याको ठूलो हिस्सा मधेशमा रहेको छ । मधेशका विभिन्न नाकामा सीमा व्यवस्थापनका लागि सरकारले सशस्त्र प्रहरीलाई खटाउने गरेको छ । तर सशस्त्र प्रहरीका कतिपय अधिकृतहरू सीमा क्षेत्रमा रहेका नागरिकहरूसँग मिलेर तस्करीलाई सहयोग गरिरहका सूचनाहरू आउने गरेका छन् । यस्तै अहिले रौतहटका डिएसपीसहित सशस्त्र प्रहरीका केही अधिकृतहरू छानबिनमा परेका छन् ।

तस्करीको सामान आरोपमा उनीहरूलाई छानबिनमा तानिएका हुन् । तस्करी गरेर नेपाल भित्र्याएको सामान बरामद गरी सबै सामान भन्सार नबुझाएको आरोपमा सशस्त्र प्रहरी बल रौतहट गणका डिएसपी सहितका प्रहरी छानबिनमा तानिएको स्रोतले जनाएको छ ।
गणका डिएसपी अमर लामा सहितका एक दर्जन प्रहरीहरू छानबिनका लागि बाहिनीमा तानिएका हुन् । उनीहरूमाथि बाहिनीले छानबिन शुरू गरेको छ । साथै, बाहिनीले सशस्त्र प्रहरी मुख्यालयमा थप कारवाहीका लागि पठाएको छ ।
रौतहट चन्द्रनिगाहपुरका तस्करका बादशाहा उपनामले चिनिने सुनिल जैसवालको तस्करीको सामान पक्राउ गरी भन्सारलाई नबुझाएको आरोप रहेको छ । त्यसैगरी शभ्भु साहको तस्करीको सामान पनि बरामद भएको थियो । धेरै बर्ष देखि रौतहटको नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्रै नभएर प्रदेश प्रहरी कार्यालय र बाहिनी समेतलाई मिलाएर जैसवाल र साहले कपडा, चिनी, मोटर पार्टसका सामानहरुको ठूलो तस्करी गर्दै आएका छन् ।
तस्करीको संजाल चलाएका साह र जैसवालको सामान पक्राउ गर्ने आंट हत्तपत्त कसैले नगरेको अवस्थामा उनले पक्राउ गरेर आफै सामान बरामद गर्ने आफैले फिर्ता गरिदिने गरेको स्रोतको दावी छ । जैसवालको तस्करीको सामान बरामद भएको सबै सामान भन्सार नबुझाएर गायव पारिएको काण्डले अहिले सशस्त्र प्रहरी बलको हलचोकमा समेत खैलाबैला मच्चिएको छ । हल्चोकले पनि उनको बद्मासीलाई कारवाहीको प्रकृया अघि बढाएको स्रोतको दावी छ ।
गणबाट डिएसपी अमर लामाको कमान्डमा खटिएको टोलीले गरूणा नजिकै शिवनगर भन्ने ठाउँमा छापा मार्याे । छापा मार्दा फोटो र भिडियो खिचेर कसैले सशस्त्र हेडक्वाटरमा जिम्मेवार व्यक्तिहरूलाई पठाईदिएपछि उनलाई कारवाहीको बाटो खुलेको स्रोतको दावी छ ।
फोटो र भिडियोमा ६ सय बोरा भन्दा बढी चिनी बरामद भएको देखिए पनि भन्सार बुझाउदा केवल १०६ बोरा मात्रै बुझाए पछि बाँकी सामान कहाँ गायव पारियो भन्ने प्रश्न उठ्यो र छानबिन शुरू भयो । यसका अलवा बरामद भएको सामान गणबाट गाडी मगाएर आफ्नै जनशक्तिको प्रयोग गरेर भन्सार लगेर बुझाउनु पर्ने मा त्यसो नगरी पव्लिक गाडी प्रयोग गरेर पव्लिकलाइ नै लोड अनलोड गर्न लगाएपछि झन् शंकास्पद भए पछि सशस्त्र मुख्यालयको आदेशमा छानबिन शुरू भएको समेत खुलेको छ ।
अर्का कपडा व्यापारी साहले न्यून बिजकीकरण गरेबापत उनले विभिन्न सामानको तोकेरै भन्सारका हाकिम तथा कर्मचारीलाई कमिसन बुझाउने गरेका छन् । एक ठेला हार्डवेयर सामानको घूस दस्तुर १४ हजार तोकिएको छ । कपडाको २० हजार, मोटर पार्टसको ५० हजार तोकिएको छ ।
यो रकम भन्सार प्रमुख र कर्मचारीलले बाँडफाँड गर्छन । यति घूस बुझेपछि भन्सार हाकिम तथा कर्मचारीले समेत साहको सामानको न्यून मूल्यांकन गरी कम भन्सार लिने र देशको राजश्वमा घाटा बनाइरहेका छन् ।
स्रोतका अनुसार १० लाखको सामान ल्याउँदा साहले बढीमा ६७ हजार मात्र भन्सार तिर्ने गरेका छन् । त्यसपछि उनले सशस्त्र प्रहरी र भन्सारका कर्मचारीलाई हातमा लिएर सामान नेपाल ल्याउने गरेको स्रोतको दावी छ ।











